मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उच्च वायु प्रदूषण हुने देशहरूमध्ये नेपाल आठौँ नम्बरमा

उच्च वायु प्रदूषण हुने देशहरूमध्ये नेपाल आठौँ नम्बरमा

न्यूजस्टोरी

काठमाडौं, ७ चैत्र । विश्वका उच्च वायु प्रदूषण हुने देशहरूमध्ये नेपाल आठौँ नम्बरमा परेको छ । स्विट्जरल्यान्डमा रहेको आईक्यू एअर नामको संस्थाले सार्वजनिक गरेको विश्व वायु गुणस्तर प्रतिवेदन २०२३ अनुसार नेपाल आठौँ नम्बरमा परेको हो ।

आईक्यू एअ ले विश्वका एक सय ३४ वटा देशको हावाको गुणस्तर अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो । गएको वर्ष सार्वजनिक भएको प्रतिवेदनमा नेपाल १६ औँ नम्बरमा थियो । सन् २०२३ मा नेपालको हावामा आँखाले नदेखिने धुलोको कण औसतमा ४२ दशमलव ४ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ ।

यस्तो मात्रा सन् २०२२ मा ४० दशमलव १ माइक्रोग्राम प्रतिघनमिटर थियो । प्रतिवेदनअनुसार एक वर्षमा नेपालको वायु प्रदूषण अझै खराब भएको हो । विश्व स्वास्थ्य सङ्गठनले हावामा आँखाले नदेखिने धुल कणको मात्रा वार्षिक औसत पाँच माइक्रोग्राम घनमिटरभन्दा बढी हुन नहुने मापदण्ड तय गरेको छ । जसअनुसार नेपालको हावा विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा झन्डै साढे आठ गुणा बढी प्रदूषित देखिएको छ ।

संसारकै सबैभन्दा प्रदूषित देशको पहिलो सूचीमा बङ्गलादेश परेको छ । धेरै वायु प्रदूषण हुने देशको सूचीमा दोस्रो स्थानमा पाकिस्तान, तेस्रोमा भारत, चौथोमा ताजकिस्तान र पाँचौँमा बुर्किना फासो रहेका छन् । यस्तै सन् २०२३ मा फ्रेन्च पोलिनेसिया सबैभन्दा स्वच्छ भएको देश बनेको छ । मरिसस, आइसल्यान्ड, ग्रेनडा, बर्मुडा, न्युजिल्यान्ड सबैभन्दा स्वच्छ हावा भएको देश बनेका छन् ।