काठमाडौं, २७ भाद्र । आईएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३ सयभन्दा बढी ३ देखि ५ तारे होटल खल्ती एपबाटै बुकिङ गर्न सक्नेछन्।
होटल बुकिङसँगै भुक्तानीसमेत एपबाटै गर्न सकिने कम्पनीले जनाएको छ। बुकिङ प्रक्रिया पूर्ण रूपमा स्वचालित रहेकाले भुक्तानी पुष्टि हुनासाथ प्रयोगकर्ताले तत्काल बुकिङ कन्फर्मेसन प्राप्त गर्नेछन्।
खल्तीले यो सेवा स्याफायर म्यानेजमेन्ट ग्रुप प्रालिसँगको प्राविधिक साझेदारीमा सञ्चालनमा ल्याएको हो।
नयाँ सेवासँगै खल्तीमा आन्तरिक उडान तथा बस बुकिङ गर्ने प्रयोगकर्ताले आफ्नो गन्तव्यमा बस्नका लागि होटलसमेत एउटै एपबाट बुक गर्न सक्ने भएका छन्। यससँगै खल्ती भुक्तानी सेवामा मात्र सीमित नभई सम्पूर्ण यात्रा व्यवस्थापन गर्ने प्लेटफर्मका रूपमा विस्तार भएको कम्पनीको भनाइ छ।
होटल बुकिङमा ५० प्रतिशतसम्म क्यासब्याक
‘यात्रा अझ सजिलो खल्तीमै’ अभियानअन्तर्गत कम्पनीले नयाँ सेवाको सुरुवातसँगै अफरसमेत सार्वजनिक गरेको छ।
अफर अवधिभर होटल बुकिङ गर्ने प्रयोगकर्तामध्ये गोलाप्रथाबाट २० जना भाग्यशाली विजेता छनोट गरिनेछ। छनोट भएका प्रत्येक विजेताले प्रतिबुकिङ अधिकतम १ हजार ५ सय रुपैयाँसम्मको ५० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्।
‘सम्पूर्ण यात्रा एउटै एपमा’ बनाउने लक्ष्य
आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक पर्यटन बढ्दै गएको अवस्थामा उडान, बस र होटल एउटै एपबाट बुक गर्न सकिने सुविधाले नेपाली यात्रुको यात्रा अनुभवलाई थप सहज बनाउने बताए।
उनका अनुसार ‘खल्ती होटल्स’ कम्पनीको ‘एउटै एपमा सम्पूर्ण यात्रा’ भन्ने दीर्घकालीन लक्ष्यतर्फको महत्वपूर्ण कदम हो।
स्याफायर म्यानेजमेन्ट ग्रुपका निर्देशक आशिष प्रसाईंले खल्तीसँगको साझेदारीले नेपालका होटल व्यवसायीलाई १ करोडभन्दा बढी डिजिटल प्रयोगकर्तासम्म प्रत्यक्ष पहुँच पुर्याउन सहयोग गर्ने बताए।
उनले यस सेवाबाट यात्रुले भरपर्दो तथा प्रमाणित बासस्थान छनोट गर्न सहज हुने दाबी गरे।
खल्ती एपबाटै होटल बुकिङ
‘खल्ती होटल्स’ सेवा खल्ती एपको ‘ट्राभल एन्ड इन्टरटेनमेन्ट’ खण्डमा उपलब्ध छ। होटल बुकिङसम्बन्धी समस्या वा सहयोग आवश्यक परेमा प्रयोगकर्ता तथा होटल व्यवसायी दुवैका लागि ग्राहक सहायता सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।
खल्तीका अनुसार नयाँ सेवामा हाल नेपालभरका ३ सयभन्दा बढी ३ देखि ५ तारे होटल समावेश छन्। कम्पनीले आगामी दिनमा होटल बुकिङ सेवाको पहुँच र सुविधा थप विस्तार गर्दै लैजाने जनाएको छ।


प्रतिक्रिया