काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि जीत निकालेको छ । शनिवार भएको खेलमा नेपालले ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको हो । जीतका लागि १२४ रनको लक्ष्य पछ्याएको अमेरिकन टोली हरिकेन्स १८।३ ओभरमा ९६ रनमा अल आउट भयो । हरिकेन्सका जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए । यसैगरी इमरान खान जुनियर र लाहिरु मिलान्थाले समान १६ रन जोडे ।
नेपालका तीव्र गतिका बलर करण केसीले ३ विकेट लिए । सोमपाल कामी र अभिनाश बोहराले समान २–२ विकेट लिए । यस्तै कप्तान रोहित पौडेल, सागर ढकालले १–१ विकेट लिए । प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाएको थियो ।
कप्तान रोहितले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन बनाए । कुशल भुर्तेल ३१ बलमा २ चौकासहित २३ रन जोडे । आसिफ शेख १, अनिलकुमार साह ४, कुशल मल्ल ६, गुलशन झा १४ रनमा आउट भए । सन्दीप जोरा र सोमपाल कामी समान १२ रनमा नट आउट रहे । हरिकेन्सका इमरान शेख जुनियरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । जिआ शाहजादले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । कोरी ड्राई र उस्मान शिनवारीले १–१ विकेट लिए । शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो । पहिलो खेलमा हरिकेन्ससँग नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रन बनाएको थियो ।


प्रतिक्रिया