किरण कुँवर
चितवन, २२ जेष्ठ । रत्ननगर नगरपालिका–१६, हात्तीगाडे स्थित श्री भद्रकाली माध्यमिक विद्यालयमा आज शिक्षक तथा विद्यार्थीहरूको मानसिक स्वास्थ्य प्रवर्द्धन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थ र पिठुवा स्वास्थ्य चौकीको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थका कार्यक्रम व्यवस्थापक डा. सुधाम्सु गौतम, मनोसामाजिक परामर्शदाता सुनिता जिरेल र सबिना भुसालको सहभागिता रहेको थियो। विद्यालयका प्रधानाध्यापक शंकर घिमिरे लगायत सम्पूर्ण शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको कार्यक्रममा विद्यालय मानसिक स्वास्थ्य कार्यक्रमको आवश्यकता र महत्वबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै डा. गौतमले नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले विगत तीन वर्षदेखि यस विद्यालय तथा आसपासका विद्यालयहरूमा विद्यार्थी केन्द्रित मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले विद्यालय मानसिक स्वास्थ्यको विषय विद्यार्थीहरूमा मात्र सीमित नभई शिक्षकहरूको मानसिक सु स्वास्थ्यलाई पनि समान रूपमा प्राथमिकता दिन आवश्यक रहेको धारणा राख्नुभयो।

उहाँका अनुसार, शिक्षक मानसिक स्वास्थ्य विद्यालयको समग्र शैक्षिक वातावरणसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो। उहाँले शिक्षक केवल ज्ञान प्रदान गर्ने व्यक्ति मात्र नभई विद्यार्थीका मार्गदर्शक, प्रेरणाका स्रोत र भावनात्मक सहारा पनि भउको बताउनुभयो । यदि शिक्षक स्वयं मानसिक तनाव, थकान, चिन्ता वा पेशागत दबाबबाट प्रभावित छन् भने त्यसले शिक्षण–सिकाइ प्रक्रियाको गुणस्तर, विद्यार्थीसँगको सम्बन्ध तथा विद्यालयको समग्र वातावरणमा प्रत्यक्ष असर पर्ने समेत उहाँले उल्लेख गर्नुभयो ।
छलफलका क्रममा शिक्षकहरूको मानसिक सुस्वास्थ्य कायम गर्न विद्यालयस्तरमा नियमित सचेतनामूलक कार्यक्रम, मनोसामाजिक सहयोग, तनाव व्यवस्थापन सीप तथा सहयोगी कार्य वातावरणको विकास आवश्यक रहेको विषयमा समेत जोड दिइयो।


प्रतिक्रिया