काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलो रोजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् ।
मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न पुगेपछि उनले ६९औं मिनेटमा मैदान छाडेको थियो ।
एडर्सनको दाहिने आँखाको सानो सकेट भाँचिएको स्क्यान रिपोर्टले पुष्टि गरेको छ। मैदानबाट बाहिरनु परेपछि उनी दुखित थिए । मोराएसलाई प्रतिस्थापन गरेका स्टेफान ओर्टेगाले केही महत्वपूर्ण बचाउ गरेका थिए ।
लिग लिडर सिटीले आइतबार वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आँफु अनुकुल नतिजा निकाल्न सके लगातार चौथोपटक प्रिमियर लिगको उपाधि जित्नेछ ।
आर्सनललाई च्याम्पियन बन्न एभर्टनविरुद्ध जित र अर्को खेलमा सिटीले अंक गुमाउनुपर्ने हुन्छ । सिटीको ३७ खेलबाट ८८ तथा आर्सनलको ८६ अंक छ । गोल अन्तरमा पनि यि दुई टोलीबीच खासै भिन्नता छैन ।
यस्तै सिटीले एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडसँग २५ मेमा वेम्बलीमा खेल्नेछ । विगतका दुई सत्रमा लगातार खेलिरहेका ओर्टेगा नै युनाइटेडविरुद्ध पहिलो रोजाईमा खेल्ने सम्भावना छ । उक्त खेलमा एडर्सन टोलीमै रहने भएपनि प्रशिक्षक पेप गुआर्डीओलाको निर्णयमा भर पर्नेछ ।


प्रतिक्रिया