काठमाडौं । अमेरिकन सकर क्लब इन्टर मियामी लिग कपको अन्तिम १६ बाटै बाहिरिएको छ । आज बिहान लोअर डट कम फिल्डमा कोलम्बस क्रूसँग ३–२ को हार बेहोरेसँगै मियामी अन्तिम १६ बाटै बाहिरिएको हो ।
खेलमा दुई गोलको अग्रता लिए पनि मियामीले त्यसलाई जोगाउन नसक्दा पराजय बेहोर्यो । खेलको १०औं मिनेटमा माटियस रोजासले गोल गर्दै मियामीलाई सुरुआती अग्रता दिलाए ।
उनले डिएगो गोमेजको पासलाई पोस्टको दिशा देखाएका थिए । यस्तै, गोमेजले नै ६३औँ मिनेटमा दोस्रो गोल गर्दै मियामीलाई २–० को अग्रता दिलाए ।
उनले लुइस सुआरेजको पासलाई सदुपयोग गरे । ६७औं मिनेटमा कोलम्बसका किश्चियन रामिरेजले गोल गर्दा खेल २–१ को स्थितिमा आयो ।
त्यसको ६ मिनेटपछि डियागो रोसीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । ८१औं मिनेटमा रोसीले नै अर्को गोल गर्दै कोलम्बसलाई ३–२ को पुनरागमन जित दिलाए ।
यो हारपछि लगातार दोस्रोपटक लिग कपको उपाधि जित्ने मियामीको उपाधि जित्ने लक्ष्य समाप्त भएको छ । गत संस्करणको लिग कपको फाइनलमा मियामीले न्यासभिल एससीलाई पेनाल्टी सुटआउटमा हराउँदै पहिलोपटक उपाधि जितेको थियो ।
यसपटक भने उसको यात्रा अन्तिम १६ मा नै टुंगियो । लियोनल मेस्सी नहुँदा मियामीले पछिल्लो समय अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन ।
उनी कोपा अमेरिकाको फाइनल खेलमा घाइते भएपछि मैदान उत्रिएका छैनन् । मेस्सी हाल आराम गरिरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनी अगस्टको अन्तिमतिर मैदान फर्किने सम्भावना छ ।


प्रतिक्रिया