मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेसीको अन्तिम प्रतिद्वन्द्वी बेनिन कस्तो छ ?

मेसीको अन्तिम प्रतिद्वन्द्वी बेनिन कस्तो छ ?

न्यूजस्टोरी

लिओनल मेसीले गत अगस्टको अन्तिम दिन अचानक अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरे। विश्वकपको फाइनलमा स्पेनसँग पराजित भएको खेल नै उनको अन्तिम अन्तर्राष्ट्रिय खेल बनेको थियो।

तर‚ अर्जेन्टिनाले आफ्ना कप्तानलाई फिक्का बिदाइ दिन चाहेको छैन। अर्जेन्टिना फुटबल संघ ९एएफए० ले उनलाई समर्थकमाझ बिदाइ गर्ने अवसर जुटाउने तयारी गरेको छ।

सेप्टेम्बर–अक्टोबरको फिफा विन्डोका लागि अर्जेन्टिनाले तीन खेलको तालिका सार्वजनिक गरेको छ। सेप्टेम्बर ३० मा बोलिभियाको आतिथ्य गर्ने अर्जेन्टिनाले अक्टोबर ३ र ६ मा घरेलु मैदानमा क्रमशः बुर्किना फासो र बेनिनसँग खेल्नेछ।

मेसीको बिदाइलाई विशेष बनाउन बेनिनविरुद्धको खेल आयोजना गर्न लागिएको हो। उक्त खेलका लागि घोषित टोलीमा विश्वकप विजेता कप्तान मेसीलाई पनि राखिएको छ।

मेसीको सम्भावित ‘लास्ट डान्स’को प्रतिद्वन्द्वी बन्न लागेको बेनिनलाई लिएर चासो बढ्नु स्वाभाविक छ। अफ्रिकी टोली बेनिन फिफा वरीयतामा ९३औं स्थानमा छ। टोली पहिलोपटक विश्वकप खेल्ने अवसरबाट भने थोरै अन्तरले चुकेको थियो।

पश्चिम अफ्रिकामा गिनीको खाडीको किनारमा रहेको बेनिनको सीमा टोगो, नाइजेरिया, बुर्किना फासो र नाइजरसँग जोडिएको छ। यसको राजधानी पोर्टो–नोभो हो भने कोटोनु प्रमुख आर्थिक केन्द्रमध्ये एक हो। बेनिनको जनसंख्या करिब डेढ करोड छ।

बेनिनको सरकारी भाषा फ्रेन्च हो। फन र योरुबालगायत विभिन्न स्थानीय भाषा पनि यहाँ बोलिन्छन्। प्रतिव्यक्ति जीडीपीका हिसाबले बेनिन विश्वका कम आय भएका देशमध्ये पर्छ।

फुटबलमा बेनिन अफ्रिकी फुटबल महासंघ (सीएएफ) को सदस्य हो। उसले अहिलेसम्म विश्वकप खेल्न सकेको छैन। तर‚ २०२६ को विश्वकप छनोटमा भने टोली विश्वकपमा पुग्ने निकै नजिक पुगेको थियो।

सन् २०२५ को मार्चमा दक्षिण अफ्रिकाले लेसोथोलाई २–० ले पराजित गरेको थियो। तर‚ पहेँलो कार्डका कारण निलम्बित मिडफिल्डर तेबोहो मोकोएनालाई मैदानमा उतारेपछि दक्षिण अफ्रिकामाथि कारबाही भयो र खेलको नतिजा दक्षिण अफ्रिकाविरुद्ध ३–० घोषित गरियो।

त्यस कारबाहीपछि समूह ‘सी’को समीकरण बदलियो। अन्तिम खेलअघि बेनिन समूहको शीर्ष स्थानमा थियो भने दक्षिण अफ्रिका दुई अंकले पछाडि थियो। यसले बेनिनलाई विश्वकप छनोटको भाग्य आफ्नै हातमा पार्ने अवसर दिएको थियो।

तर‚ अन्तिम खेलमा भिक्टर ओसिमेनको ह्याट्रिकसहित नाइजेरियाले बेनिनलाई ४–० ले पराजित गर्‍यो। अर्कोतर्फ दक्षिण अफ्रिकाले रुवान्डालाई ३–० ले हराउँदै समूहको शीर्ष स्थान कब्जा गर्‍यो र सिधै विश्वकपमा छनोट भयो। दोस्रो स्थानमा रहेको नाइजेरियाले अफ्रिकी प्लेअफमा खेल्ने अवसर पायो भने बेनिन तेस्रो स्थानमा रहँदै बाहिरियो।

अब बेनिनले गत विश्वकपको उपविजेता अर्जेन्टिनासँग खेल्नेछ। खेलको सबैभन्दा ठूलो आकर्षण मेसीको सम्भावित अन्तिम अन्तर्राष्ट्रिय उपस्थिति हुनेछ। त्यसैले बेनिन पनि मेसीको अन्तिम खेलको प्रतिद्वन्द्वीका रूपमा सम्झनलायक प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।