काठमाडौं । चिनीको मूल्य निरन्तर बढ्दै गएको छ । साउनको शुरुमा किलोमा १०० रुपैयाँ रहेको चिनी गत साता १० रुपैयाँ र यस साता फेरि १० रुपैयाँले बढेर किलोमै १२० रुपैयाँ पुगेको छ ।
खुद्रा व्यापार संघका अनुसार आजदेखि उपभोक्ताले प्रतिकिलो चिनीको १२० रुपैयाँ तिर्नुपर्नेछ । थोक व्यापारीबाट किन्दा आफूहरूलाई नै किलोमा ११५ रुपैयाँभन्दा कममा नपाउने भएपछि मूल्य वृद्धि गर्नुपरेको संघका महासचिव अमुलकाजी तुलाधरले बताए ।
भारतले २०२३ जुन १ देखि अक्टोबर ३१ सम्म चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो । गत वर्ष अक्टोबरमा उक्त प्रतिबन्ध एक वर्ष बढाउने निर्णय भारतले गरेको थियो । निर्यातमा प्रतिबन्ध लगाए पनि भारतले नेपालमा भने २५ हजार मेट्रिक टनसम्म चिनी निर्यात गर्ने कोटा दिएको थियो । तर उक्त कोटाअनुसार चिनी आयात गर्न नसक्दा नेपालमा चिनीको मूल्य बढ्दै गएको हो ।
गत वर्ष चाँडपर्वका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई १०/१० हजार टन आयातको जिम्मा दिएको थियो । आयातका लागि ५० प्रतिशत भन्सार छुट पनि ती संस्थानले पाउने थिए । तर चिनी महँगो भएको भन्दै ती दुवै संस्थानले गत वर्ष चिनी आयात गर्न चाहेनन्/गरेनन् ।
त्यसपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयातका लागि निजी क्षेत्रलाई बाटो खुला गर्ने निर्णय गर्यो । १९ हजार टन चिनी आयातको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरे पनि निजी क्षेत्रलाई भन्सार छुट भने सरकारले दिएन । जसकारण चिनी आयातका लागि इच्छुक १० निजी कम्पनी पनि पछि हटे । जसकारण गत वर्षदेखि नै चिनीको मूल्य बढ्दै गएको छ ।
यस वर्ष पनि भारतले दिएको कोटा सुविधाअनुसार सरकारले चिनी आयात गर्न सक्ने आशंका यथावत रहेको हुँदा चाँडपर्वमा चिनीको मूल्य अझै बढ्नसक्ने देखिएको छ । साल्ट ट्रेडिङ र खाद्यले चिनी आयात नगरेपछि निजीलाई आयातका लागि अनुमति दिने तयारी गरेको सरकारले निजीले पनि भन्सार छुट नपाएपछि आयात गर्न नमान्दा तेस्रो विकल्प रोजेको छ ।
गत जेठ ३१ मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागलाई निजी क्षेत्रबाट चिनी ल्याउने तयारी गर्न निर्देशन दिएकोमा निजी क्षेत्र पनि अनिच्छुक देखिएपछि विभागले हाल नेपाली फर्म/कम्पनीलाई लक्ष्य गरी १९ हजार मेट्रिक टन चिनी आयातका लागि सूचना निकालेको छ । गत साउन २३ गते सूचना जारी गर्दै विभागले इच्छुक नेपाली फर्म/कम्पनीले आफूले आयात गर्न चाहेको परिमाण (न्यूनतम २६ सय टन) खुलाइ आवेदन दिन आह्वान गरेको छ ।
चाँडपर्व नजिकिँदै जाँदा यस वर्ष पनि चिनी आयात अल्मलमै रहेकाले दशैंतिहारको बेला गतवर्षकै अवस्था दोहोरिने खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधर बताउँछन् । उनले यस वर्ष यस्तै अवस्था रहे दशैँतिहारमा चिनीको मूल्य प्रतिकिलो १५० रुपैयाँसम्म पुग्ने बताए ।


प्रतिक्रिया