चितवन, २७ माघ । चितवनको पर्यटकीय नगरी सौराहामा आइतबारबाट १८औं सौराहा फूड फेस्टिबल सुरु हुँदैछ ।
रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा माघ २८ देखि फागुन ३ गतेसम्म फेस्टिबल हुनेछ । फेस्टिवल उद्घाटन पूर्व विहान सौराहामा शोभायात्रा निकालि आयोजकले जनाएको छ ।
बछौलीचोकबाट सुरु भएको शोभायात्राले सौराहा परिक्रमा गर्ने कार्यक्रम रहेको छ । सौराहा सहित चितवनको पर्यटन विकासका लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । खाना, संगित र संस्कृतिलाई संगसंगै अगाडि बढाएर फेस्टिवललाई विशेष बनाइने बताइएको छ ।
सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरि फेस्टिवलका गतिविधिलाई अगाडि बढाइएको फेस्टिबल संयोजक सुर्यबहादुर रिमालको भनाइ छ ।
समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीलाई सौराहा पर्यटन मार्ग सौन्दर्यकरणमा खर्च गरिने आयोजकको दावी छ ।
रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् । फेस्टिवलमा ५० वटा खानाका स्टलहरु रहने छन् ।


प्रतिक्रिया