मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जमुनाहा नाका २ दिन बन्द हुने

जमुनाहा नाका २ दिन बन्द हुने

न्यूजस्टोरी

बाँके । नेपाल–भारत जमुनाहा सीमा नाका दुई दिन बन्द हुने भएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा यही वैशाख २१ गते हुने नगरपञ्चायतको चुनावका लागि नाका बन्द गर्न लागिएको हो ।

मङ्गलवार राति १२ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म नाका पूर्णरूपमा बन्द गरिने जानकारी भारतीय सुरक्षा अधिकारीले दिएका बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले बताउनुभयो । यसको जानकारी नेपाली सुरक्षा निकायलाई पनि हुने उहाँले उल्लेख गर्नुभयो ।

खुला सीमाका कारण चुनावका बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले दुई दिन सीमा नाका बन्द गर्न लागिएको हो । त्यस क्रममा सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा बल, एसएसबीका स्थानीय अधिकारीबीच संयुक्त गस्तीका लागि छलफल भएको छ ।

नाका बन्द गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने तथा सुरक्षा संवेदननशीलताअनुसार काम गर्ने सहमति भएको छ । सीमा सिल गरिएको अवधिमा एम्बुलेन्स, बिहेजन्तीलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउन जान दिइने भारतीय सुरक्षा अधिकारीले जनाएका छन् ।

खुला सीमाका कारण अन्य नाकामा पनि विशेष निगरानी बढाइएको जनाउँदै सशस्त्र प्रहरीको बागेश्वरी ३० नम्बर गणले ती क्षेत्रमा कडाइ गरेको जनाएको छ ।

यसैगरी वैशाख १९ गतेदेखि दुई देशका सीमा क्षेत्रमा जाँड–रक्सीको बिक्री र खानमा समेत रोक लगाइएको छ । नेपाल र भारत दुवै देशमा विभिन्न तहका चुनावमा हुने समयमा सीमा नाका बन्द हुँदै आएको छ ।