मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुर भर्सेस धनगढी : गत वर्षको फाइनलिस्टको भिडन्त

ललितपुर भर्सेस धनगढी : गत वर्षको फाइनलिस्टको भिडन्त

न्यूजस्टोरी

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा शनिबार गत वर्षको फाइनलिस्ट ललितपुर सिटी एफसी र धनगढी एफसी भिड्दैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ६ बजे हुनेछ। यी टोलीले लिग चरणमा गोलरहित बराबरी खेलेका थिए। यद्यपि, ललितपुर १२ र धनगढी ११ अंकसहित प्लेअफमा पुगेका थिए। यो खेल जित्ने टोलीले सिधैं फाइनलमा स्थान बनाउने छ।

हार्नेले भने दोस्रो क्वालिफाइरमा इलिमिनेटरको विजेता पोखरा थन्डर्स र चितवन एफसीबीचको विजेतासँग खेल्नेछ। यी दुई टोली अहिलेसम्म चारपल्ट भिडिसकेका छन्।

तीमध्ये तीन खेल बराबरीमा सकिएको छ भने एकमा ललितपुरले जित हात पारेको छ। पहिलो संस्करणमा यी दुई टोलीले लिग चरणमा १–१ को बराबरी खेलेका थिए। दोस्रो संस्करणमा भए लिग चरणमा यी दुई टोलीले गोलरहित बराबरी खेले। तर, फाइनलमा ललितपुरले धनगढीलाई ३–२ ले पाखा लगाएको थियो।

यसपल्ट पनि लिग चरणमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका छन्। समग्रमा सात गोल हुँदा ललितपुरले चार र धनगढीले तीन मात्रै गर्न सकेका छन। शनिबारको खेलमा धनगढी गत संस्करणको फाइनलको बदला लिने लक्ष्यमा हुनेछ।

यो लक्ष्य पूरा भएमा धनगढी लगातार तेस्रोपल्ट उपाधिनजिक पुग्नेछ। ललितपुर पनि लगातार दोस्रोपल्ट फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ।