मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोदो र फापर फलाउने किसानलाई मकवानपुरको भीमफेदी गाउँपालिकाको अनुदान

कोदो र फापर फलाउने किसानलाई मकवानपुरको भीमफेदी गाउँपालिकाको अनुदान

न्यूजस्टोरी

मकवानपुर, ३० मंसिर । मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने भएको छ । गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण ‍गर्ने भएको हो । गाउँपालिकाले अनुदान दिने घोषणा गरेपछि किसानहरु उत्साहित भएका छन् ।

पालिका अध्यक्ष हिदम लामाले शुक्रवार नगद अनुदान वितरण गर्दै सहरबजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर मुनाफा आर्जन गर्न किसानलाई आग्रह गर्नुभयो ।

भीमफेदीको एक हजार ६० रोपनी जग्गामा दुई सय ६६ किसानले कोदो रोपेका र त्यसबाट एक सय मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ कोदो उत्पादन बढाउन पालिकाले अनुदानको व्यवस्था गरेको अध्यक्ष लामाले बताउनुभयो । यो वर्ष अपेक्षाअनुसार मकै उत्पादन नभएकाले कोदोले त्यसको अभाव परिपूर्ति गर्ने उहाँले बताउनुभयो । अनुदान पाएका किसान बाहेक पालिकाका अन्यले पनि कोदो खेती गर्दै आएका तथा भीमफेदीमा मात्र दुई हजार रोपनीभन्दा बढी क्षेत्रफलमा कोदो खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गाउँपालिकाले पालिकाभित्र उत्पादित रैथाने बाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य पनि निर्धारण गरेको छ । गाउँपालिकाको आर्थिक विकास समितिको निर्णयअनुसार चालु आर्थिक वर्षका लागि कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ५५ र फापर प्रति केजी एक सय रुपैयाँ निर्धारण गरिएको छ ।