विश्व फूटबल महासंघ (फिफा)ले प्रदान गर्ने फिफा द बेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् ।
कतारमा मंगलबार राति भएको समारोहमा ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषणा गरिएको हो ।
बार्सिलोनाकी मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा द बेस्ट महिला खेलाडीको पुरस्कार जितेकी हुन् । २६ वर्षीया बोनमतीले २०२४ मा क्लब र राष्ट्रका लागि उत्कृष्ट प्रदर्शन गरेपछि यो प्रतिष्ठित पुरस्कार जितेकी हुन् । उनी सम्मिलित टोलीले सन् २०२३ मा महिला विश्वकपको उपाधि जितेको थियो ।
ब्राजिलका भिनिसियसले २०२३–२४ को सिजनमा ३९ खेल खेल्दै २४ गोल गरेका थिए । उनले आफ्नो क्लब रियललाई च्याम्पियन्स लिगको १५ औँ उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
यस्तै यस वर्षको फिफा द बेस्ट पुरुष प्रशिक्षकको पुरस्कार रियल मड्रिडका प्रशिक्षक कार्लो एन्जेलोटीले हात पारे । यसैगरी, महिलातर्फ अमेरिकी महिला फूटबल टोलीकी प्रशिक्षक एम्मा हेजले पुरस्कार जितिन् ।
इंग्लिस क्लब एस्टन भिल्लाका अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेजले फिफा द बेस्ट पुरुष गोलकिपरको पुरस्कार जिते भने अमेरिकाकी एलिसा नेहरले महिलातर्फको पुरस्कार हात पारिन् ।
उत्कृष्ट गोल गर्नेलाई प्रदान गरिने पुस्कास अवार्ड पुरुषतर्फ म्यानचेस्टर युनाइटेडका अर्जेन्टिनी खेलाडी अलेक्जान्ड्रो गोरान्चो तथा महिलातर्फ अमेरिकी क्लब ओलरान्डो प्राइडकी ब्राजिलियन खेलाडी मार्टाले जितिन् ।
प्रतिक्रिया