मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला टी–२० विश्वकपको विजेताले पाउने पुरस्कार बढ्यो

महिला टी–२० विश्वकपको विजेताले पाउने पुरस्कार बढ्यो

न्यूजस्टोरी

अर्को महिनामा यूएईमा हुने महिला टी–२० विश्वकपको विजेताले पाउने पुरस्कार राशि बढेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार यस पटकको विश्वकप विजेताले २३ लाख ४० हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको विश्वकप च्याम्पियन अस्ट्रेलियाले जितेको रकमको तुलनामा १ सय ३४ प्रतिशतले बढी हो । अस्ट्रेलियाले विश्वकप जित्दा १० लाख अमेरिकी डलर पाएको थियो । महिला र पुरुष विश्वकपमा समान पुरस्कार प्रदान गर्ने पहलमा यो कदम चालिएको आईसीसीले जनाएको छ ।

आईसीसीले २०२४ को पुरुष टी–२० विश्वकपको विजेता भारतलाई २४ लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको थियो । पुरुष टी–२० विश्वकपमा २० राष्ट्र सहभागी हुँदा महिला टी–२० विश्वकपमा १० राष्ट्रको मात्र सहभागिता रहनेछ ।

२०२४ को महिला विश्वकपको उपविजेताले ११ लाख ७० हजार अमेरिकी डलर पाउनेछ । गएको वर्ष उपविजेता दक्षिण अफ्रिकाले ५ लाख अमेरिकी डलर पाएको थियो । २०२४ मा सेमिफाइनलमा पराजित दुई टोलीले ६ लाख ७५ हजार अमेरिकी डलर पाउनेछन् । जुन अघिल्लो संस्करणमा २ लाख १० हजार अमेरिकी डलर थियो ।

सन् २०२४ मा सहभागी हुने सबै १० टिमले १ लाख १२ हजार ५ सय अमेरिकी डलर पाउने छन् । नवौँ संस्करणको महिला टी–२० विश्वकप अक्टोबर ३ देखि यूएईमा शुरु हुँदैछ । बङ्गलादेशमा सुरक्षाको कारण देखाउँदै प्रतियोगिता यूएई सारिएको थियो ।