मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्टरको ट्रेबल सपना समाप्त

इन्टरको ट्रेबल सपना समाप्त

न्यूजस्टोरी

काठमाडौं ११ बैशाख। यस सिजन एसी मिलानले सिरी ‘ए’ मा खास उपलब्धि हासिल गर्न सकेको छैन। तर, सहरी प्रतिद्वन्द्वी इन्टर मिलानविरुद्ध भने फरक छ।

बुधबार राति लुका जोभिकको दुई गोल मद्दतले मिलानले इन्टरलाई ३–० ले पराजित गर्दै इटालियन कपको फाइनलमा प्रवेश गर्‍यो। यो सिजन इन्टरविरुद्ध मिलानको तेस्रो जित हो। जनवरीमा इटालियन सुपर कपको फाइनलमा पनि मिलानले इन्टरलाई हराएको थियो।

‘सिरी ए मा हाम्रो अवस्था खासै राम्रो छैन। त्यसैले आज हामीले आफ्नो गुणस्तर र चरित्र देखाउनु आवश्यक थियो। “हामीले त्यो देखायौं र अब हामी रोम जाँदैछौं,’ जोभिकले खेलपछि भने।

मिलानका प्रशिक्षक सर्जियो कोन्सेसेओको लागि उपाधि जित्नु नै सम्भवतस् उनको पद जोगाउने अन्तिम अवसर हुन सक्छ। सात पटक युरोपियन च्याम्पियन रहिसकेको मिलान अहिले सिरी ‘ए’ तालिकाको नवौं स्थानमा रहेको छ।

युरोपा लिगको स्थान दिलाउने इटालियन कप उपाधि नै अब मिलानको आगामी सिजन युरोपेली प्रतियोगितामा स्थान बनाउने मुख्य बाटो देखिन्छ। दुई लेग सेमिफाइनलको पहिलो खेल १–१ को बराबरीमा सकिएको थियो। कुल स्कोरमा मिलान ४–१ ले विजयी बन्यो।

अर्कोतर्फ बिहीबार हुने दोस्रो सेमिफाइनलको दोस्रो लेगमा बोलोनाले एम्पोलीविरुद्ध ३–० को अग्रता लिएको छ। फाइनल खेल मे १४ मा रोममा हुनेछ।

सुरुआतमै इन्टरले आक्रामक रूपमा खेल्न थाल्यो। फेडेरिको डिमार्कोले २३औं मिनेटमा पोस्टबारमा हानेका थिए। तर, त्यसपछि खेलमा जोभिक चम्किए। ३६औं मिनेटमा शक्तिशाली हेडरमार्फत पहिलो गोल गरे र दोस्रो हाफ सुरु हुन नपाउँदै नजिकबाट दोस्रो गोल थपे।

८५औं मिनेटमा तिज्जानी रेजन्डर्सले टोलीको सामूहिक पासिङ मूभमा उत्कृष्ट फिनिस गर्दै तेस्रो गोल गरे। ‘हामीमा ठूलो विश्वास छ। सिरी ए मा केही चुनौती छन्, तर हामीलाई थाहा छ युरोप पुग्ने यो सबैभन्दा छोटो बाटो हो। यदि आजजस्तै खेल्यौं भने हामीले उपाधि जित्न सक्छौं,’ रेजन्डर्सले भने।

यो इन्टरको लगातार दोस्रो हार हो। यसअघि आइतबार सिरी ए मा बोलोनासँग इन्टर १–० ले पराजित भएको थियो। इन्टरले च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्सिलोनासँग खेल्नेछ।