मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल अर्को वर्ष हुने आईसीसी १९ वर्षमुनिको विश्वकपमा पुग्न असफल

नेपाल अर्को वर्ष हुने आईसीसी १९ वर्षमुनिको विश्वकपमा पुग्न असफल

न्यूजस्टोरी

नेपाल अर्को वर्ष हुने आईसीसी १९ वर्षमुनिको विश्वकपमा पुग्न असफल भएको छ । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपाल र अफगानिस्तानबीच आजको खेल वर्षाका कारण रद्द भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो ।

अर्को वर्ष जिम्बावे र नामिबियामा हुने १९ वर्षमुनिको विश्वकपमा पुग्न नेपाललाई यो खेल जित्नै पर्ने थियो । अफगानिस्तानलाई बराबरीले पनि पुग्थ्यो । तर हिजो बेलुकादेखि बिहानसम्म भएको वर्षाले मूलपानी मैदान भिजेर खेल सञ्चालन हुन ढिलाइ भएको थियो । ३० यार्ड सर्कलभित्रको मैदान सबै सुके पनि बाउन्ड्री लाइन छेउछाउको मैदान नसुकेका कारण म्याच रेफ्री तथा अम्पायरहरुले कम्तीमा २०–२० ओभरको खेल हुन पनि सम्भव नभएको बताउँदै खेल रद्द गरेका हुन् ।

नेपाल र अफगानिस्तान पहिलो तीन खेल जितेर निर्णायक अवस्थामा आइपुगेका थिए । नेट रन रेटमा अफगानिस्तान अघि थियो । नेपाल, ओमान, यूएई अफगानिस्तान र हङकङ सहभागी यो प्रतियोगिता विजेता टोली १९ वर्षमुनिको विश्वकपमा पुग्ने व्यवस्था थियो । नेपालले गएको वर्ष दक्षिण अफ्रिकामा भएको आईसीसी १९ वर्षमुनिको विश्वकपमा अफगानिस्तानलाई एक विकेटले पराजित गरेको थियो ।

त्यसपछि नोभेम्बरमा यूएईमा भएको एशिया कपमा पनि नेपालले अफगानिस्तानलाई जितेको थियो । यो प्रतियोगिता अघि नेपाल र अफगानिस्तानका १९ वर्षमुनिका टोलीले तीन खेलको शृङ्खला खेलेकामा अफगानिस्तान २–१ ले विजयी भएको थियो । नेपालले यसअघि आठ पटक आईसीसी १९ वर्षामुनिको विश्वकप खेलिसकेको छ ।