काठमाडौं, ८ चैत्र । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा आजको खेलमा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कर्णाली प्रदेश विजयी भएका छन् । दाङको देउखुरी क्रिकेट मैदान लमहीमा आर्मीले गण्डकी प्रदेशलाई छ विकेटले हरायो ।
गण्डकीले दिएको एक सय १७ रनको लक्ष्य पछ्याएको आर्मीले २६ ओभर पाँच बलमा चार विकेट गुमाएर भेट्टायो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी ३० ओभर तीन बलमा एक सय १६ रनमा अलआउट भयो । जीतसँगै दोश्रो स्थानमा रहेको आर्मीको सात खेलमा १२ अङ्क छ । समान खेलमा १४ अङ्क रहेको पुलिस तालिकाको शीर्ष स्थानमा छ ।
यस्तै आज सिद्धार्थनगर क्रिकेट रङ्कशालामा भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले हराएको छ । सुदूरपश्चिमले दिएको एक सय ९१ रनको लक्ष्य पछ्याएको एपीएफले ३६ ओभर तीन बलमा सात विकेट गुमाएर भेट्टायो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ४८ ओभर पाँच बलमा एक सय ९१ रनमा अलआउट भयो । यो जीतसँगै एपीएफ छ खेलमा आठ अङ्कसहित तेस्रो स्थानमा छ । सात खेल खेलेको सुदूरपश्चिम चार अङ्कसहित तालिकाको छैटौं स्थानमा छ ।
त्यसैगरी भैरहवाको एस्ट्राटेक क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ८१ रनले हराएको छ । कर्णालीले दिएको दुई सय एक रनको लक्ष्य पछ्याएको मधेस ३५ ओभर दुई बलमा अलआउट भयो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली ४९ ओभर एक बलमा दुई सय रनमा अलआउट भएको थियो । यो जीतसँगै कर्णाली सात खेलमा आठ अङ्कसहित चौथो स्थानमा उक्लिएको छ । छ खेल खेलेको मधेस चार अङ्कसहित सातौं स्थानमा छ । प्रतियोगितामा तीन विभागीय र सात प्रदेशसहित १० टोली छन् ।


प्रतिक्रिया