काठमाडौं । सार्वजनिक ऋणको ग्राफ हरेक महिना बढ्दै गएको छ । गएको फागुन महिना मात्रै सार्वजनिक ऋण ६४ अर्ब रुपियाँभन्दा बढीले वृद्धि हुँदै २६ खर्ब ७६ अर्ब ३ करोड रुपियाँ नाघेको छ । माघ मसान्तसम्म २६ खर्ब ११ अर्ब ६ करोड रुपियाँ रहेको सार्वजनिक ऋण रहेको थियो ।
चालू आर्थिक वर्षको आठ महिनामा २ खर्ब ४१ अर्ब ९३ करोड रुपियाँ ऋण थप भएको छ । चालू आर्थिक वर्षको सुरूवातमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड ९८ लाख रुपियाँमा रहेको थियो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सार्वजनिक ऋणको दायित्व कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४६ दशमलव ९१ प्रतिशत रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालको जीडीपी ५७ खर्ब ५ अर्ब रुपियाँ अनुमान गरिएको छ ।
कुल ऋणमध्ये आन्तरिकतर्फ १३ खर्ब १५ अर्ब ५७ करोड ८६ लाख अर्थात् जीडीपीको २३ दशमलव शून्य छ प्रतिशत र बाह्यतर्फ १३ खर्ब ६० अर्ब ४६ करोड ११ लाख अर्थात् जीडीपीको २३ दशमलव ८५ प्रतिशत रहेको छ । विनिमय दरमा आएको परिवर्तनबाट ६६ अर्ब २९ करोड रुपियाँ दायित्व थप भएको छ । डलरको भाउ महिँगदा फागुन महिनामा मात्रै २९ अर्ब ७० करोड रूपियाँ बढेको छ । जनसंख्याको आधारमा प्रतिव्यक्ति ऋणको भार झण्डै ९१ हजार रुपियाँ पुगेको छ ।
चालू आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा फागुन मसान्तसम्म ३ खर्ब ३४ अर्ब ६२ करोड ऋण प्राप्त भएको छ । यो लक्ष्यको तुलनामा ६१ दशमलव १७ प्रतिशत रहेको छ । यसमध्ये आन्तरिक र बाह्य ऋण प्राप्तिको प्रगति क्रमशः ८१ दशमलव ५६ प्रतिशत र ३० दशमलव १७ प्रतिशत रहेको छ । कुल ऋण प्राप्तिमा आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ८० दशमलव ४३ प्रतिशत र १९ दशमलव ५७ प्रतिशत रहेको छ।
चालू आर्थिक वर्षमा ऋण खर्चका लागि २ खर्ब ८५ अर्ब बजेट विनियोजन गरिएकोमा फागुन मसान्तसम्म २ खर्ब १ अर्ब ८२ करोड भुक्तानी भएको छ, जसले बजेट विनियोजनको ७० दशमलव ७८ प्रतिशत हो । त्यस्तै कुल गार्हस्थ्य उत्पादनको आधारमा फागुन मसान्तसम्म कुल ऋण खर्च ३ दशमलव ५४ प्रतिशत रहेको छ।
चालू आर्थिक वर्षमा सरकारले आन्तरिक ऋणको १ खर्ब २४ अर्ब ४७ करोड ७४ लाख रुपियाँ साँवा र ३६ अर्ब ९७ करोड ४९ लाख ब्याज गरी १ खर्ब ७१ ऋर्ब ४५ करोड २३ लाख भुक्तानी गरेको छ । त्यस्तै बाह्य ऋणको साँवा २४ अर्ब ५० करोड ३१ लाख रुपियाँ र ब्याज ५ अर्ब ७७ करोड ४० लाख गरी ३० अर्ब २७ करोड ३१ रुपियाँ भुक्तानी गर्दै चालू आर्थिक वर्षको आठ महिनामा जम्मा २ खर्ब १ अर्ब ७२ करोड ९३ लाख रुपियाँ ऋण तिरेको छ । यस वर्ष सरकारले अझै २ खर्ब १ अर्ब १२ करोड ३३ लाख रुपियाँ साँवा तथा ब्याज भुक्तानी गर्नुपर्ने भाका छ । जसमध्ये आन्तरिकतर्फ १ खर्ब ६५ अर्ब ५० करोड २१ लाख र बाह्यतर्फ ३५ अर्ब ६२ करोड १२ लाख रुपियाँ तिर्नुपर्ने रहेको छ ।
सरकारले यस वर्ष सावाँ–ब्याज भुक्तानीमा ४ खर्ब २ अर्ब बजेट विनियोजन गरेको छ । यसमध्ये फागुन मसान्तसम्म ५० दशमलव शून्य ८ प्रतिशत खर्च भएको छ । यो जीडीपीको तुलनामा ३ दशमलव ५४ प्रतिशत हाराहारी हो ।
सार्वजनिक ऋण बढे पनि पुँजीगत खर्चमा सरकारको रकम विनियोजन र खर्चको अवस्था भने न्यून रहेको छ । चालू आर्थिक वर्षको आठ महिना २ खर्ब ४१ अर्ब ९३ करोड रुपियाँ ऋण थप हुँदा बजेट घाटा पनि एक खर्ब रुपियाँभन्दा बढीले वृद्धि भएको छ ।
महालेखा नियन्त्रण कार्यालयका अनुसार आठ महिनाको अवधिमा सरकारले ७ खर्ब ३९ अर्ब २७ करोड ४८ लाख रुपियाँमा आम्दानी गर्दा ८ खर्ब ४१ अर्ब १४ करोड ७० लाख रुपियाँ खर्च गरेको छ । लक्ष्यभन्दा न्यून राजस्व र अनुदान प्राप्त नहुँदा सरकारलाई घाटा भएको हो । उक्त अवधिमा जम्मा कुल बजेटको ४५ दशमलव २२ प्रतिशत मात्रै खर्च भएको छ । जसमध्ये चालूतर्फ ५ खर्ब ८५ अर्ब ६१ करोड अर्थात् ५१ दशमलव २४ प्रतिशत, पुँजीगततर्फ ८२ अर्ब ५६ करोड अर्थात् २३ दशमलव ४३ प्रतिशत र ऋणको साँवा ब्याज भुक्तानीमा १ खर्ब ७२ अर्ब रुपियाँ अर्थात् ४७ दशमलव शून्य ९ प्रतिशत खर्च भएको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
चालू आर्थिक वर्षमा सरकारले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपियाँको बजेट विनियोजन गर्दै १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । तर, आठ महिनाको राजस्व संकलनको अवस्था हेर्दा लक्ष्य भेट्टाउनु मुस्किल हुने देखिन्छ । जसका कारण आगामी वर्षमा सार्वजनिक ऋणको ग्राफ अझै बढ्ने निश्चित छ । पछिल्लो एक दशकमा नेपालको सार्वजनिक ऋण द्रुत गतिमा वृद्धि हुँदै २१ खर्ब रुपियाँभन्दा बढीले वृद्धि भएको छ । भूकम्प, नाकाबन्दी तथा कोरोना महामारीलगायतले राजस्व संकलनमा प्रभावित हुनुका साथै सरकारको दायित्व बढेकाले ऋण पनि वृद्धि हुँदै गएको विज्ञहरू बताउँछन् । आव २०७१÷७२ मा ५ खर्ब ४० अर्ब रुपियाँ रहेको सार्वजनिक ऋण आव २०७२÷७३ मा ६ खर्ब १५ अर्ब पुगेको थियो ।
त्यस्तै, आव २०७३-७४ मा ६ खर्ब ९७ अर्ब, आव २०७४-७५ मा ९ खर्ब १९ अर्ब, आव २०७५-७६ मा १० खर्ब ४८ अर्ब, आव २०७६-७७ मा १४ खर्ब ३३ अर्ब, आव २०७७-७८ मा १७ खर्ब ३७ अर्ब, आव २०७८÷७९ मा २० खर्ब १० अर्ब, आव २०७९÷८० मा २२ खर्ब ९५ अर्ब र आव २०८०-८१ म २४ खर्ब ३४ अर्ब रुपियाँ सार्वजनिक ऋण रहेको तथ्यांक छ ।
चालू आर्थिक वर्षको आठ महिनामा जम्मा २ खर्ब १ अर्ब ७२ करोड ९३ लाख रुपियाँ ऋण तिरेको छ ।
यस वर्ष सरकारले अझै २ खर्ब १ अर्ब १२ करोड ३३ लाख रुपियाँ साँवा तथा ब्याज भुक्तानी गर्नुपर्ने भाका छ । जसमध्ये आन्तरिकतर्फ १ खर्ब ६५ अर्ब ५० करोड २१ लाख र बाह्यतर्फ ३५ अर्ब ६२ करोड १२ लाख रुपियाँ तिर्नुपर्ने रहेको छ ।


प्रतिक्रिया