काठमाण्डाै । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।
रुपन्देहीको सिद्धार्थ रङ्गशालामा भएको खेलमा आर्मीले बाग्मतीलाई १ सय ३४ रनले हरायो । आर्मीले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको बाग्मतीले २७ ओभरमा १ सय २८ रनमा अलआउट भयो । बाग्मतीका विवेक मगरले ५१ रन बनाए । आर्मीका शाहब आलमले ४, आकाश चन्दले ३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६२ रन बनायो । आर्मीका सन्तोष कार्कीले ७६ रन बनाए । बाग्मतीका रिजन ढकाल, प्रतिस जिसी र ईशान पाण्डेले २/२ विकेट लिए । प्रतियाेगितामा आर्मीको यो विजयी शुरुआत हो भने बाग्मतीको लगातार दोस्रो हार हो ।
यस्तै रुपन्देहीकै एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । पुलिसले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको लुम्बिनीले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनायो । लुम्बिनीका प्रज्ज्वल थापाले ७२ रन बनाए । पुलिसका सागर ढकालले ३ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ४९ रन बनायो । पुलिसका कुशल भुर्तेलले ५९, आरिफ शेखले ५६ रन बनाए । लुम्बिनीका कृष्ण कार्की र अजय चौहानले ३/३ विकेट लिए । प्रतियाेगितामा पुलिसको यो विजयी शुरुआत हो भने लुम्बिनीको दोस्रो खेलमा पहिलो हार हो ।
यस्तै दाङको देउखुरी रङ्गशालामा भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । गण्डकीले दिएको २ सय २१ रनको लक्ष्य सुदूरपश्चिमले ४ विकेट गुमाएर ४२ बलअघि नै भेटायो । सुदूरपश्चिमका किरण ठगुन्नाले शतक बनाए । यो संस्करणको प्रतियोगितामा यो पहिलो शतक हो । किरण १ सय १ बलमा १ सय २१ रनमा नटआउट रहे । गण्डकीका विपिन खत्री, अमृत गुरुङ, कमल परियार र अर्जुन कुमालले १/१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ८ विकेट गुमाएर २२० रन बनायो । गण्डकीका दीपक डुम्रेले ६०, अर्जुन कुमालले ५७ रन बनाए । सुदूरपश्चिमका शेर मल्लले ३ विकेट लिए । प्रतियाेगितामा सुदूरपश्चिमको यो दोस्रो खेलमा पहिलो जीत हो भने गण्डकीले हारसहित शुरुआत गरेको छ ।


प्रतिक्रिया