मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आर्सनलको ऐतिहासिक जित

आर्सनलको ऐतिहासिक जित

न्यूजस्टोरी

आर्सनलले मंगलबार राति च्याम्पियन्स लिग नकआउट चरणको इतिहासकै सबैभन्दा ठूलो ‘अवे’ जित दर्ता गरेको छ।

बुकायो साका, काइ हाभर्ट्ज, ग्याब्रिएल मार्टिनेली र ग्याब्रिएल जिससजस्ता मुख्य खेलडी अनुपस्थित रहे पनि आर्सनलले अन्तिम १६ को पहिलो लेगमा पिएसभी इन्दोभेनलाई ७–१ ले पराजित गर्न सफल भएको हो।
योसँगै आर्सनल क्वार्टरफाइनलनजिक पुगेको छ। ‘हामी लयमा थियौं। हामीसँग उत्साह, जोश र भोक थियो। हामीले सिजनभरि नै यसरी खेलेका छौं। अब यो मानसिकता कायम राख्दै अगाडि बढ्न आवश्यक छ,’ मिडफिल्डर डेक्लान राइसले खेलपछि भने।

खेलको १८औं मिनेटमा जुरिएन टिम्बरले हेडरमार्फत आर्सनललाई अग्रता दिलाए। त्यसको तीन मिनेटपछि किशोर खेलाडी इथान न्वानेरीले माइल्स लुइस–स्केलीको असिस्टमा गोल गर्दै अग्रता दोब्बर बनाए। यो च्याम्पियन्स लिगमा दुई इङ्लिस किशोर खेलाडीहरूले पहिलो पटक संयुक्त रूपमा गोल गरेको ऐतिहासिक क्षण थियो।

‘उनी १७ वर्षका छन् र विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा खेलिरहेका छन्। यो अद्भुत छ। उनी र माइल्सले राम्रो प्रदर्शन गरे। उनीहरूको आत्मविश्वास अविश्वसनीय छ,’ डेक्लान राइसले न्वानेरीबारे भने।

मिकेल मेरिनोले आक्रमणको जिम्मेवारी सम्हाल्दै ३–० को अग्रता दिलाए। कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे भने लिआन्द्रो ट्रोसार्ड र रिकार्डो क्यालाफियोरीले थप गोल गर्दै आर्सनललाई ऐतिहासिक जित दिलाए। पिएसभीका लागि नोआ लाङले पेनाल्टीमार्फत एकमात्र सान्त्वना गोल गरे।

आर्सनल अब च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्न धेरै टाढा छैन। दोस्रो लेगमा सामान्य नतिजाले नै आर्सनललाई अन्तिम आठमा पुर्‍याउनेछ।