काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले नयाँ मुख्य प्रशिक्षक पाएको छ। ९ महिनासम्म मुख्य प्रशिक्षकविहीन रहेको नेपाली टिममा अष्ट्रेलियाली नागरिक म्याट रोस नयाँ मुख्य प्रशिक्षकका रुपमा आएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार रोसलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको हो। एक महिनाअघि नै म्याट रोस नयाँ मुख्य प्रशिक्षक बन्ने हल्ला चलिरहेको थियो।
प्रशिक्षक नियुक्त भएसँगै सोमबार पत्रकारसँग उनको अन्तरक्रिया हुँदैछ।
यसअघि नेपालको मुख्य प्रशिक्षक रहेका इटालियन नागरिक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता जेठमै सकिएपछि अर्को नयाँ प्रशिक्षक राखिएको थिएन। एन्फाले भिन्सेन्जाको सम्झौता भदौमा मात्र नथप्ने निर्णय सार्वजनिक गरेपछि मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो। सोही दरखास्तमा परेको आवेदनबाट एन्फाले म्याट रोसलाई छानेको हो।
यसअघि महिला टिमको मात्र प्रशिक्षक रहेका रोसले पहिलो पटक कुनै पनि देशको पुरूष राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्दैछन्।
रोसलाई मुख्य प्रशिक्षक नियुक्त गर्नुपूर्व नेपालले ताजिकिस्तान र अफगानिस्तानसँग प्रतिस्पर्धा गरेको थियो। ती दुई मैत्रीपूर्ण खेलमा नविन न्यौपानेले अन्तरिम मुख्य प्रशिक्षक थिए।
अष्ट्रेलियका म्याट रोसले नेपाली टिम सम्हाल्न पाउँदा उत्साहित रहेको बताएका छन्। उनले चुनौती पन्छाएर अगाडि बढ्ने योजना रहेको सुनाए।
उनले टिम सम्हाले लगत्तै सिगापुरसँग मैत्रीपूर्ण खेल हुनेछ भने सन् २०२७ मा हुने एसियन कपको तेस्रो चरणको छनोटमा नेपालले मलेसियासँग खेल्नेछ।
नेपालले मार्च २१ मा सिंगापुरसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल्नेछ भने त्यसको ४ दिनपछि एसियन कप छनोटमा मलेसियासँग उसैको मैदानमा खेलनेछ।
उनले छोटो समयम भएकोले शुरुवाती दुई खेल आफ्नो लागि चुनौतीपूर्ण हुने तर त्यसका लागि सक्दो खेल्ने प्रयासका लागी तयारी गर्नुपर्ने बताए।
‘यूईएफए प्रो लाइसेन्स’ मान्यता प्राप्त प्रशिक्षक म्याट रोसले सन् २०२० देखि २०२३ सम्म दक्षिण कोरियाका कोरियाको सहायक प्रशिक्षकका रुपमा काम गरे।
उनी सहायक प्रशिक्षक रहेकै बेला दक्षिण कोरियाको महिला टोलीले सन् २०२२ को एएफसी एसियन कपको फाइनलमा स्थान बनाएको थियो। तर फाइनलमा कोरिया चीनसँग ३-२ ले पराजित हुँदै उपविजेतामै खुम्चिएको थियो।
१८ औँ विदेशी प्रशिक्षक
नेपाली टिमलाई अहिलेसम्म १७ जना विदेशी प्रशिक्षकले प्रशिक्षण दिएका छन्। १८ औँ प्रशिक्षकका रूपमा म्याट आएका छन्।
यसअघि ग्राम पल रोबर्टस, ज्याक स्टेफोनोस्की , योहान कालिन , अल्बर्टो भिनसन्जो एनेस, अब्दुल्लाह अल्मुताइरी , रुडी गोटेनडोर्फ , जोचेन फिगे, रेनहार्ड फाविच, जोय किनर, होल्गर ओभरम्यान, यो कि हिउङ, टोस्टेन स्पीटलर , स्टेफन कन्स्टेनटाइन, तोसिहिको सियोजावा, थोमस फ्लाथ, प्याट्रिक औसिम, कोजी गोयोतोकुले नेपाली टिमको प्रशिक्षण सम्हालिसकेका छन्।


प्रतिक्रिया