मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्यानमारलाई हराएर स्वर्णको स्वाद चाख्न चाहन्छ नेपाल

म्यानमारलाई हराएर स्वर्णको स्वाद चाख्न चाहन्छ नेपाल

न्यूजस्टोरी

काठमाडौं । नेपाल र मयानमारले बुधबार हुने चार देशीय महिला अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्न आफूहरू तयार रहेको बताएका छन्। नेपाल घरेलु भूमिमा पहिलो स्वर्णको स्वाद चाख्न चाहन्छ भने, बलियो म्यानमार पनि आफ्नो छवि बिगार्न चाहँदैन।

नेपालका प्रशिक्षक राजेन्द्र तामाङले आफ्नो टिम फाइनलका लागि तयार रहेको बताए। ‘लिग चरणका तीनवटै खेल राम्रो खेल्यौं। हामी फाइनलका लागि तयार छौं,’ उनले भने। त्यस्तै, कप्तान एन्जिला तुम्बापो सुब्बाले घरेलु मैदानमा उपाधि जित्नका लागि खेल्ने बताइन्। ‘हामी आजसम्म रजतमा नै सीमित छौं। यसपटक स्वर्णको लागि खेल्नेछौं।’

लिगमा बलियो देखिएको म्यानमार पनि भोलि फाइनल खेल राम्रो खेल्न चाहन्छ। ‘लिग चरणमा सबै प्रतिस्पर्धी बलिया थिए। नेपालसँग खेलेर उसको बारेमा थाहा पाएका छौं। आशा छ, भोलि राम्रो खेल हुनेछ,’ म्यानमारका प्रशिक्षक तेत्सुको युकीले पत्रकार सम्मेलनमा भने। कप्तान वेन थेइङगी तुन पनि आफूहरूले फाइनलमा राम्रो खेल्ने बताइन्। ‘प्रतियोगितमा हामी उपाधिका लागि नै आएका हौं। यससँगै हामीले नयाँ खेलाडीको विकासका लागि पनि यो प्रतियोगितामा भाग लिएका हौं। जसमा सबै खेलाडीले राम्रो खेलिरहेका छन्,’ उनले भनिन्।

लिग चरणमा भने म्यानमार विजेता बन्दै फाइनल खेल्न लागेको हो भने नेपाल उपविजेताको रूपमा फाइनल खेल्नेछ। नेपालले पहिलो खेलमा कीर्गिस्तानलाई १-०, लेवनानलाई १-० र म्यानमारसँग २-२ बराबरी खेलेको हो। म्यानमारले भने पहिलो खेलमा लेवनानलाई ३-१ र कीर्गिस्तानलाई ५-० ले हराएको हो। नेपालसँग २-२ बराबरी खेलेको हो।

२ रजतपछि स्वर्णको भोक
नेपालका लागि एक वर्षभित्रमा खेल्ने यो तेस्रो फाइनल हो। गत वर्ष फागुनमा वाफ च्याम्पियनसिपमा जोर्डनसँग टाइब्रेकरमा उपविजेता बनेको नेपालले कात्तिकमा साफ महिला च्याम्पियनसिप घरेलु मैदानमा नै बंगलादेशसँग हार्‍यो। ‘एक वर्षभित्रमा हामीले ३ वटा फाइनल खेल्दैछौं। फेरि उपाधि जित्ने मौका आएको छ। भोलि हामी टिमको हिसाबले राम्रो गर्छैं। स्वर्णको भोक मेट्नको लागि पनि टिमको रूपमा खेलेर अनुशासनमा बसेर अन्तिमसम्म खेल्यौं भने नतिजा राम्रो निकाल्ने छौं,’ कप्तान एन्जिला तुम्बापो सुब्बाले बताइन्।

प्रशिक्षक राजेन्द्र तामाङका लागि पनि प्रशिक्षण अवधिको एक वर्षभित्रमा ३ वटा फाइनल खेल्नु निकै महत्त्वपूर्ण कुरा हो। २ खेलमा रजतमा सीमित हुँदा यसपटक धैर्यताका साथमा शान्त भएर खेलाडीको राम्रो व्यवस्थापनसहित स्वर्ण जित्ने प्रशिक्षक राजेन्द्र तामाङको विश्वास छ। ‘कोचिङ करिअरमा १ वर्षमा ३ वटा फाइनल खेल्नु भनेको मेरो लागि भित्रबाट नमन गरेका छौं। एकदमै महत्वपूर्ण छ। वाफ र साफमा चुक्यौं। अन्तिम यो बाँकी छ। धैर्यता र शान्त रहेर यो पाली स्वर्ण नै जित्ने लक्ष्य छ,’ उनले भने।

नेपालले हालः धेरै कुरामा परिवर्तन गरेको छ। प्रशिक्षक राजेन्द्र तामाङका अनुसार अब टिममा नयाँ खेलाडी ल्याउने र नेपाली महिला फुटबललाई पुस्तान्तरण गराउने धेय रहेको छ। ‘महिला फुटबलमा मैले पुस्तान्तरण गर्ने क्रममा छु। तुरुन्तै गर्न नसकिएला। तर, युवा नै हो फुटबलमा दौडिने। उमेर पुगेका खेलाडीले अफ सिजनमा पनि मेहनत गर्नुपर्छ,’ उनले भने। उनले यसपटक चार नयाँ खेलाडीलाई सहभागी गराएको बताए।

हालः टिममा विदेशी लिग खेलेर आएका २ स्ट्राइकरबीच पनि कम्बिनेसन मिलिसकेका कारण फाइनलमा नेपालले राम्रो गर्ने अपेक्षा प्रशिक्षक तामाङको छ। ‘को खेलाडी कस्ता भन्दा पनि टिममा कसले राम्रो खेल्छ भनेर खेलाउने हो। रेखा र सावित्रा पनि टिममा राम्रोसँग घुलमिल भइसकेका छन्,’ उनले भने।

नेपाली पहिलो रोजाइकी गोलरक्षक एन्जिला पनि युरोपमा खेलेको अनुभवले टिमलाई मद्दत गरिरहेको बताउँछिन्। दुई खेलमा उनले क्लिन चिट राखेकी छन्। उनी भन्छिन्, ‘मैले नेपालबाट जे सिकेको थिएँ, त्योभन्दा केही फरक कुरा मैले युरोपमा सिकें। त्यसले टिमलाई केही न केही रूपमा फरक पारेको जस्तो लाग्छ।’

म्यानमारको उत्कृष्ट रणनीति
नेपालभन्दा फिफा वरियतामा ४८ स्थान माथि रहेको म्यानमार आफ्नो उत्कृष्ट रणनीतिसहित नेपाली भूमिमा घरेलु टिमसँग फाइनल खेल्न तयार छ। प्रशिक्षक तेत्सुको युकी भन्छन्, ‘नेपाली टिम निकै राम्रो छ। घरेलु टिमसँग नै हामी फाइनल खेल्न लागेका छौं। त्यसैले पनि हामी भोलिको खेलका लागि निकै उत्साहित छौं।’

म्यानमारका प्रशिक्षक युकीले सबै प्रतिस्पर्धी बलियो भएको बताउँदै फाइनलअघि नेपालसँग खेल्ने मौका पाउँदा टिमलाई जान्ने मौका पाएको बताए। ‘फाइनल खेल्नुअघि हामीले यो टिमसँग खेल्ने मौका पायौं। जसले गर्दा धेरै कुराहरू जान्ने मौका मिल्यो। हामी हाम्रो उत्कृष्ट रणनीतिसहित तयार हुनेछौं। हामी फाइनल खेलका लागि तयार छौं,’ उनले भने।

नेपाली समर्थकको तारिफ गर्दै प्रशिक्षक युकी भन्छन्, ‘नेपालसँगको खेलमा धेरै समर्थकहरू मैदानमा आएका थिए। उनीहरूले टिमलाई राम्रो समर्थन गरेका थिएँ। म निकै सन्तुष्ट भएँ। जुन मात्रामा समर्थकहरू आएर समर्थन गरे, त्यो देख्दा खुसी लाग्यो। यो हाम्रो टिमका लागि पनि राम्रो कुरा हो,’ उनले भने। कप्तान वेन थेइङगी तुनले दुवै टिम फाइनल खेल्न लायक रहेको बताइन्।

हेड टु हेड
नेपाल र म्यानमारले हालसम्म नेपालले ४ खेल खेलेका छन्। जसमा नेपालले जित निकाल्न सकेको छैन। २ खेलमा म्यानमारले जित निकालेको छ भने २ खेल बराबरीमा सकिएको छ। नेपाल र म्यानमारले २०१९ मा हिरो गोल्डकपको फाइनलमा भेट गरेका थिए। यी दुई टिमले दोस्रो पटक फाइनलमा भेट गर्दै छन्।