काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेटमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशमाथि फराकिलो जित निकालेको छ ।
बिहीबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको सुपर फोरको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई १० विकेटले पराजित गरेको हो । बागमती प्रदेशले दिएको ४३ रनको लक्ष्य पछ्याएको एपीएफले ६.५ ओभरमा बिना विकेटको क्षतिमा भेट्टाएको हो । खराब मौसमका कारण २० ओभरको खेल १८ ओभरमा झारिएको थियो । एपीएफका ममता चौधरी २३ र राजमति ऐरी १४ रनमा अविजित रहे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित १८ ओभरमा सबै विकेट गुमाएर ४२ रनको योगफल तयार पारेको थियो । बागमतीका लागि यशु पाण्डे, सविका यादव र यलि यादवले समान ८-८ रनको योगदान दिए । विपिशा शाहीले ७ रन जोड्दा यशोधा विष्टले ३ रन जोडिन् । बागमती प्रदेशकी कप्तान कञ्चन श्रेष्ठ, सलिना सिलवाल र मनिषा उपाध्याय भने शून्य रनमै पभिलियन फर्किएका थिए ।


प्रतिक्रिया