हेटौंडा । स्पेनिश सुपर कपको सेमिफाइनलमा मालाेर्कालाई पराजित गर्दै रियल म्याड्रिड फाइनलमा प्रवेश गरेको छ । जुड बेलिङ्घम र रोड्रिगोको गोल मद्दतले रियल म्याड्रिडले बिहीबार रियल मालाेर्कालाई ३-० ले हराएको हो ।
साउदी अरेबियाको जेद्दामा भएको खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६३औं मिनेटमा बेलिङ्घमले गोल गर्दै रियलको खाता खोले । खेलमा दोस्रो गोल भने इन्जुरी समयमा रियललाई उपहारस्वरूप प्राप्त भयो । मालाेर्काको तर्फबाट मार्टिन भालजेन्टले आत्माघाती गोल गरेपछि रियलको अग्रता २-० भएको थियो । त्यसलगत्तै रियलका रोड्रिगोले गोल गरेपछि रियल ३-० ले विजयी हुँदै फाइनल प्रवेश गरेको छ ।
फाइनलमा रियलको भिडन्त बार्सिलोनासँग हुनेछ । स्पेनी सुपर कपको १४ पटकको सर्वाधिक विजेता बार्सिलोना र १३ पटकको विजेता रियलबीचको फाइनल प्रतिस्पर्धालाई ‘एल क्लासिको’को रुपमा समेत हेरिन्छ ।
प्रतिक्रिया