किरण कुँवर
चितवन, २२ मंसिर । चितवनको रत्ननगर स्थित टिकौलीचौरमा आज देखि राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता सुरू भएको छ ।
प्रतियोगिताको रत्ननगरका नगर प्रमुख प्रलाद सापकोटाले उद्घाटन गर्नुभएको हो । प्रमुख सापकोटाले खेलकुद क्षेत्रको विकास र राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले क्लवले सेन्ट्रल कलेज तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगिता आयोजना गरेको जानकारी दिनुभयो ।
प्रतियोगिताको पहिलो खेलमा आयोजक रत्न प्रिय क्लव विजयी भएको छ । हेटौंडा फुटबल एकाडेमीलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दे आयोजक रत्न प्रिय क्लव सिधै सेमिफाईनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ दी म्याच रत्न प्रिय क्लवका खेलाडी ममता पुन हुनु भयो । उहाँले नगद रु २ हजार प्राप्त गर्नुभयो ।
भोलीको खेल परिवर्तन हातेमालो युवा संगठन र निजगढ फुटबल क्लब बिच हुने छ । खेलमा राष्ट्रियस्तरका आठवटा टिमले सहभागिता जनाएको आयोजकको भनाइ छ ।
खेलकुदको विकासको लागि निरन्तर विभिन्न प्रतियोगिताहरु गर्दै आएको क्लबले यसअघि पहिलो र दोस्रो रत्नप्रिय कप पुरूष फुटबल प्रतियोगिता गरिसकेको छ । यसवर्षको भने तेस्रो रत्नप्रिय कप महिला फुटबल प्रतियोगिता हो ।
प्रतियोगिताको बिजेता टिमलाई एक लाख ११ हजार १११ र उपविजेता टिमलाई ५५ हजार ५५५ रूपैयाँसहित शिल्ड, मेडल, ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक प्रवेश कुँवरले जानकारी दिनुभयो ।
प्रतियोगितामा सर्वोत्कृष्ट, उदयमान , उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता र म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाई पुरस्कार प्रदान गरिने छ ।


प्रतिक्रिया