किरण कुँवर
चितवन, २० मंसिर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा यही मंसिर २२ गतेबाट राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिका वडा नं ९ स्थित रत्नप्रिय क्लवले तेसो रत्नप्रिय कप महिला फुटवल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
चितवनको रत्ननगरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराईएको थियो । प्रतियोगिताको ८० प्रतिशत तयारी सकिएको र राष्ट्रिय स्तरका ८ वटा टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लवका अध्यक्ष बसन्त रानाले जानकारी दिनुभयो । खेलकुदको विकासको लागि निरन्तर विभिन्न प्रतियोगिताहरु गर्दै आएको सो क्लवले यस भन्दा अघि पहिलो र दोस्रो रत्नप्रिय कप पुरुष फुटबल प्रतियोगिता गरिसकेको छ । यस बर्ष भने तेस्रो रत्नप्रिय कप महिला फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको रानाको भनाइ छ ।
प्रतियोगिताको विजेता टिमलाई १ लाख ११ हजार १११ र उपविजेता टिमलाई ५५ हजार ५५५ सहित शिल्ड, मेडल, ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक प्रवेश कुँवरले जानकारी दिनुभयो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उदयमान खेलाडी, उत्कृष्टक गोल रक्षक, सर्वाधिक गोलकर्ता र म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाई ५÷५ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा आयोजक रत्नप्रिय क्लव सहित संकटा क्लव, बागमती युवा क्लव सर्लाही, हेटौडा फुटबल एकेडेमि, निजगढ फुटबल क्लव, अभिषेक चर्ज रजहर, पद्मा स्पोटर्स क्लब ओखलढुंगाले प्रतिस्पर्धा गर्नेछन् ।
रत्ननगर नगरपालिका र वडा नं ९ संरक्षक रहेको उक्त प्रतियोगिता २९ गते सम्म चल्ने छ ।


प्रतिक्रिया