मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्योगलाई ५६ किस्ताको सुविधा, पहिलो किस्ता नबुझाएसम्म लाइन नजोडिने

उद्योगलाई ५६ किस्ताको सुविधा, पहिलो किस्ता नबुझाएसम्म लाइन नजोडिने

न्यूजस्टोरी

काठमाडौं, १५ कार्तिक । नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइनको सुविधा लिएर पनि महसुल नतिरेका उद्योगलाई ५६ किस्तामा रकम बुझाउने सुविधा दिएको छ । हिजो बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले २८ पटकको किस्ताबन्दी सुविधालाई बढाएर ५६ किस्ता पुर्‍याएको छ । हिजोको बैठकले उद्योगीले पहिलो किस्ता तिर्छु भनेर निवेदन दिने र पहिलो किस्ताको रकम दिएपछि तत्काल लाइन जोड्ने निर्णय गरेको हो ।

हिजो नै विद्युत् नियमन आयोगले पनि बाँकी रहेको बक्यौता तिर्न थालेपछि मात्रै उद्योगमा काटिएको बिजुलीको लाइन जोड्न प्राधिकरणलाई निर्देशन दिएको थियो । हिजोको प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगीलाई अदालत जान पनि सहजीकरण गर्ने निर्णय गरेको छ । अहिले कुल बक्यौताको २५ प्रतिशत राखेर प्राधिकरणको पुनरावलोकन समितिमा जानुपर्ने अवस्था रहेकोमा अब पाँच प्रतिशत मात्रै बैंक ग्यारेन्टी तथा नगद राखेर पुनरावलोकन समितिमा जान सक्ने व्यवस्था भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको निर्णयलाई साथ दिँदै हिजो विद्युत् नियमन आयोगले लाइन काटिएका उद्योगीले पहिलो किस्ताको पैसा नतिरेसम्म लाइन नजोड्न निर्देशन दिएको छ । ट्रङ्क र डेडिकेटेड लाइन उपभोग गरेको बिल नतिरेको भन्दै प्राधिकरणले अघिल्लो बिहिवारदेखि ३४ वटा उद्योगको लाइन काटेको छ । पाँच वटाले भने किस्ता तिर्न थालेकाले जोडिएको छ । हिजो आयोगले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको बक्यौता भुक्तानी नभएसम्म काटिएका बिजुलीको लाइन नजोड्न निर्देशन दिएको हो ।

प्राधिकरणले लाइन काटेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री दीपक खड्का प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग रुष्ट हुनुहुन्छ । उहाँहरुले लाइन काट्नु नै समस्याको समाधान नहुने बताउनुभएको छ । तर नागरिक स्तरबाट चर्को विरोध भएपछि अस्ति मङ्गलवारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो विषय उर्जा मन्त्रालय नियमन आयोगले नै सल्टाउनुपर्ने बताउनुभएको थियो ।