मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महसूल नतिरेसम्म उद्योगमा काटिएको बिजुली नजोड्न विद्युत् प्राधिकरणलाई आयोगको निर्देशन

महसूल नतिरेसम्म उद्योगमा काटिएको बिजुली नजोड्न विद्युत् प्राधिकरणलाई आयोगको निर्देशन

न्यूजस्टोरी

काठमाडौैं, १५ कार्तिक । नेपाल विद्युत प्राधिकरणको निर्णयलाई साथ दिँदै विद्युत् नियमन आयोगले लाइन काटिएका उद्योगीले पैसा नतिरेसम्म लाइन नजोड्न निर्देशन दिएको छ । ट्रङ्क र डेडिकेटेड लाइन उपभोग गरेको बिल नतिरेको भन्दै प्राधिकरणले अघिल्लो बिहिवारदेखि ३४ वटा उद्योगको लाइन काटेको छ । पाँच वटाले भने किस्ता तिर्न थालेकाले जोडिएको छ ।

हिजो आयोगले पैसा नतिरेका डेडिकेटेड फिडर र ट्रङ्क लाइनको बक्यौता भुक्तान नभएसम्म काटिएका बिजुलीको लाइन नजोड्न निर्देशन दिएको हो । विद्युत् नियमन आयोगको हिजो बसेको बैठकले १७ वैशाख २०८१ मा सरकारले गरेको निर्णयमा उल्लेख भएको २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिको विवादित डेडिकेटेड फिडर र ट्रङ्क लाइनको बक्यौतामा प्राधिकरणबाटै तोकिएको र सोही तिर्नुपर्ने भएको उल्लेख गरेको छ ।

आयोगले विद्युत् महसूल प्राधिकरणले नै तोक्ने र महशुल नबुझाएको कारणबाट लाइन काटिएको भए सम्बन्धित ग्राकहले त्यस्तो अवधिको रकम बुझाएपछि मात्रै बिजुली लाइन जोडिदिन पनि निर्देशन दिएको छ ।

प्राधिकरणले लाइन काटेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री दीपक खड्का प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग रुष्ट हुनुहुन्छ । उहाँहरुले लाइन काट्नु नै समस्याको समाधान नहुने बताउनुभएको छ । तर नागरिक स्तरबाट चर्को विरोध भएपछि अस्ति मङ्गलवारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो विषय उर्जा मन्त्रालय नियमन आयोगले नै सल्टाउनुपर्ने बताउनुभएको थियो ।

ट्रङ्क र डेडिकेटेड लाइनको बिजुली प्रयोग गरेका ४९ वटा उद्योगले महसूल तिरेका थिएनन् । यसमध्ये सात वटाले अदालतबाट अन्तरिम आदेश लिएर बसेका छन् । छ वटा उद्योगले किस्ताबन्दीमा नियमित महसूल तिरिरहेका छन् । दुई वटा सरकारी उद्योगले पनि तिरेका छैनन् । बाँकी रहेका ३४ वटा उद्योगलाई प्राधिकरणले पटक–पटक म्याद दिँदा पनि उनीहरूले महसूल नतिरेपछि लाइन काटेको हो ।

पाँच वटाले किस्ता बुझाउन थालेकाले लाइन जोडिएको छ भने २९ वटा उद्योगको लाइन अझै काटिएको छ । ट्रङ्क र डेडिकेटेड लाइन दिएबापत प्राधिकरणले छ अर्ब ६० करोड ७८ लाख रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ ।