काठमाडौं । टी-२० क्रिकेट इतिहासमा पहिलो पटक ३ सुपर ओभर खेल भएको छ। भारतको एक राज्यस्तरीय प्रतियोगितामा यस्तो भएको हो। कर्नाटकको महाराजा ट्रफी टी-२० क्रिकेट प्रतियोगिताको नतिजाका लागि ३-३ सुपर ओभर भएका हुन्। अन्तिम सुपर ओभरमा पनि अन्तिम बलको चौकाले निर्णय दिएको थियो।
बैंगलोरस्थित एम चिन्नास्वामी मैदानमा शुक्रबार भएको हुबली टाइगर्स र बैंगलोर ब्लास्टर्सबीच भएको खेल रोमाञ्चक बन्यो। त्यसो त यसअघि २-२ पटक सुपर ओभर भएर खेलको निर्णय धेरै पटक आएको छ। तेस्रो पटक सुपर ओभरमा धकेलिएको भने यो पहिलो घटना हो।
खेलमा हुबली टाइगर्सले १ सय ६४ रन बनाएको थियो। जवाफमा बैंगलोरले पनि अन्तिम ५ बलमा २ रन बनाउन नसक्दा खेल १ सय ६४ रनको बराबरीमा पुग्यो। त्यसपछि भएको पहिलो सुपर ओभरमा दुबै टिमले समान १०-१० रन बनाए। त्यसपछि दोस्रो सुपर ओभरमा खेल धकेलियो जहाँ दुबै टिमले समान ८-८ रन बनाए।
त्यसपछि तेस्रो सुपर ओभरमा पुगेको खेल निर्णायक बन्यो। जहाँ बैंगलरले १२ रन बनायो। जवाफमा हुबलीले अन्तिम बलमा चौका प्रहार गर्दै १३ रन बनाएर खेल रोमाञ्चक रूपमा आफ्नो पक्षमा पारेको थियो।


प्रतिक्रिया