काठमाडौं । घरेलु मैदानमा हुने साफ यु-२० च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य नेपाली टिमले राखेको छ । आगामी २ देखि १२ भदौसम्म नेपालले साफ यु-२० च्याम्पियनसिपको आयोजना गर्दै छ । घरेलु मैदानमा हुने च्याम्पियनसिपका लागि नेपाली टोलीले गत असारको अन्तिम सातादेखि तयारी गरेको हो । युवा टोलीले पर्याप्त तयारी गर्ने अवसर पनि पाएको छ ।
उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाली टिमले सातदोबाटो टर्फ र प्राकृतिक घाँसे मैदानमा तयारी गरिरहेको छ । त्यसैले नेपाली टिम घरेलु मैदानमा दाबेदारका रूपमा प्रस्तुत हुनेछ । नेपाली टिमका कप्तान कुशल देउवाले पनि पर्याप्त तयारी पाएकाले घरेलु मैदानमा राम्रो प्रदर्शन गर्ने बताए । उनले तयारी धेरै राम्रो भइरहेको र हरेक दिन सुधार गरिएकाले नेपाल बलियो टोलीका रूपमा प्रस्तुत हुने बताए । हरेक टोली जितकै मानसिकताका साथ आएकाले कुनै पनि प्रतिद्वन्द्वी सहज भने नहुने उनले बताए ।
प्रतियोगिता घरेलु मैदानमा भएकाले आफ्नो टोलीले पनि यो उपाधि जित्ने अवसरका रूपमा लिएको उनले बताए । सोहीअनुरूप आफ्नो टोलीले बलियो चुनौती दिने उनले बताए । उमेरसमूहमा नेपाली टोलीले राम्रो प्रदर्शन गर्दै आएको छ । यसपटक घरेलु मैदान र राम्रो तयारीका कारण नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । एन्फाको टर्फ र प्राकृतिक घाँसे मैदानमा प्रशिक्षण भएको कप्तान देउवाले बताए ।
तयारी अन्तिम चरणमा पुग्दा रणनीतिक रूपमा टोलीले आफूलाई तयारी गरिरहेको उनको भनाइ छ । च्याम्पियनसिपमा ६ राष्ट्र सहभागी हुँदै छन् । नेपालले उद्घाटन खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले तयारी अन्तिम चरणमा पुगेको र टिम बलियो देखिएकाले उपाधि उचाल्ने विश्वास व्यक्त गरे ।
घरेलु मैदानमा दर्शकको साथ मिल्ने उनको विश्वास छ । तयारीमा वर्षाले पनि अवरोध नगरेको उनको भनाइ छ । समूह ‘ए’ मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका छन् । अर्को समूहमा साविक विजेता भारत, माल्दिभ्स र भुटान छन् । यस च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सले प्रतिस्पर्धा गर्दै छन् ।
च्याम्पियनसिपमा हरेक टोलीलाई बलियो मान्दै तयारी गरेको प्रशिक्षकको भनाइ छ । हरेक खेल फाइनलजस्तै मानेर खेल्ने प्रशिक्षक उर्जनले बताए । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार समूह चरणका ६ खेलसहित सेमिफाइनलका दुई र फाइनल खेल दशरथ रंगशलाको मैदानमै हुने तय छ ।


प्रतिक्रिया