काठमाडौँ । नेपालको अन्तिम खेलअगावै काभा महिला भलिबलको सेमिफाइनल समीकरण पूरा भएको छ। सोमबार आफ्नो अन्तिम खेलमा भारतले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेसँगै शीर्ष स्थान पक्का गर्यो।
भारत शीर्ष स्थानमा रहेसँगै दोस्रो र तेस्रो स्थानमा रहेको नेपाल र इरानले अब फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्। शीर्ष स्थानमा रहेको भारतले श्रीलंका सँगै सेमिफाइनलमा खेल्ने छ। भारतको जितले नेपालको शीर्ष स्थानमा रहने सम्भावना सकिएको थियो।
नेपालले आफ्नो अन्तिम खेलमा अहिले माल्दिभ्ससँग खेलिरहेको छ। यो खेलमा नेपाल सोझो सेटमा जित निकाले पनि नेपाल शीर्ष स्थानमा पुग्ने छैन। यसअघि आइतबार नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएपछि नेपालको शीर्ष स्थानमा पुग्ने सम्भावना कमजोर बनेको थियो।
सेमिफाइनलमा भोलि मंगलबार भारत र श्रीलंकाबीच पहिलो सेमिफाइनल तथा नेपाल र इरानबीच दोस्रो सेमिफाइनल हुनेछ। पर्सी बुधबार प्रतियोगिताको फाइनल हुनेछ।


प्रतिक्रिया