मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जर्मनीको जित, इंग्ल्याण्ड भने स्तब्ध

जर्मनीको जित, इंग्ल्याण्ड भने स्तब्ध

न्यूजस्टोरी

काठमाडौं । यूरो कपअघिको अन्तिम तयारी खेलमा जर्मनी विजयी भयो भने इंग्ल्याण्डले स्तब्धपूर्ण नतिजाको सामना गरेको छ। यस पटकको यूरो कप आयोजक जर्मनीले शुक्रबार राति भएको वार्मअप खेलमा ग्रीसविरुद्ध एक गोलले पछि परेपनि पुनरागमन जित निकालेको हो।

जर्मनीले आफ्नो घरेलु मैदानमा पाहुना टोली ग्रीसमाथि २–१ को जित निकाल्न सफल भएको हो। अर्को साताबाट सुरु हुने युरो कपका लागि भएको वार्मअप खेलमा जर्मनीले पहिला गोल बेहोरेको थियो । ग्रीसको लागि ३३औं मिनेटमा जिर्योगोस मासोरसले गोल गरेर जर्मनीलाई झट्का दिएका थिए । तर, दोस्रो हाफमा भने जर्मनी खेलमा फर्कियो ।

५५औं मिनेटमा काई हाभर्ट्जले गोल गरेर खेल बराबरी ल्याएका थिए । त्यसपछि ८९औं मिनेटमा पास्कल ग्रोबले गोल गरेर घरेलु टोलीलाई २–१ को जित दिलाए । अब जर्मनीको खेल युरो कपमा हुनेछ । जुन १४ बाट शुरु हुने युरो कपको उद्घाटन खेलमा जर्मनीले स्कटल्यान्डसँग खेल्ने तालिका छ।

यूरो कपकै लागि भएको अर्को वार्मअप खेलमा गत संस्करणको उपविजेता इंग्ल्यान्डले स्तब्घपूर्ण हार बेहोरेको थियो। शुक्रबार राति भएको खेलमा इंग्ल्यान्ड आफ्नै घरेलु मैदानमा पाहुना टोली आइसल्यान्डसँग १–० ले पराजित भएको थियो ।

युरो कपमा होमिनुअघि इंग्लिस टिमले लन्डनमा भएको उक्त खेलमा एक गोल पनि गर्न सकेन । उक्त खेलमा इंग्लिस टिममा कोले पाल्मर, फिल फोडेन, ह्यारी केन, अर्नोल्ड, बुकायो शाका लगायत सबैजसो प्रमुख खेलाडीले खेले पनि हारको सामना गर्नुपर्‍यो ।

सो खेलमा आइसल्यान्डका लागि एक मात्रै विजयी गोल खेलको १२औं मिनेटमा जोन डागुरले गरेका थिए। इंग्ल्यान्डले खेलभरिमा आइसल्यान्डको पोस्टमा जम्मा एक पटक मात्रै अन टार्गेट सट प्रहार गरेको थियो।

अर्कोतिर आइसल्यान्डले इंग्ल्यान्डको पोस्टमा ८ सट प्रहार गरेकोमा ४ सट अन टार्गेट भएको थियो। अब इंग्ल्यान्डले युरो कपमा पहिलो खेल जुन १६ मा सर्बियासँग खेल्दै युरो कपको यात्रा प्रारम्भ गर्नेछ।

शुक्रबारै भएका अन्य वार्मअप खेलमा चेक रिपब्लिकले माल्टालाई ७–१ ले, पोल्याण्डले यूक्रेनलाई ३–१ ले हराउँदा स्कटल्याण्ड र फिनल्याण्डले २–२ तथा रोमानिया र लिचेस्टाइनले गोलरहित बराबरीको नतिजा आत्मसात गरे।