काठमाडौं, ४ माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आउँदो १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने बताउनुभएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को २४ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादनको जग बसेको दाबी गर्नुभयो । उहाँले पछिल्लो १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासका निम्ति एउटा विशेष र महत्त्वपूर्ण अवसर बन्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अबको १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासका निम्ति एउटा विशेष र महत्त्वपूर्ण अवसर बन्नेछ । आउँदो १२ वर्षमा हामी २८ हजार ७ सय मेगावाट बिजुली उत्पादन गर्न सक्छौँ ।
यो उपलब्धिले हाम्रा सामु नयाँ सम्भावना, अवसर पनि सिर्जना गरेको छ । तर हरेक उपलब्धि, सम्भावनासँगै नयाँ चुनौती पनि सिर्जना भएका छन् । चुनौतीको उचित व्यवस्थापन गर्ने र सम्भावनालाई अझ व्यावहारिक बनाउँदै इच्छाशक्तिका साथ हामी अघि बढ्नुपर्छ । अहिले सरकार त्यही बाटोमा अघि बढिरहेको छ ।’
मन्त्री बस्नेतले पछिल्लो ८ वर्षमा २२ सय मेगावाट बिजुली उत्पादन गरेको र अबको ३ देखि ४ महिनाभित्र ४/५ सय मेगावाट उत्पादन हुने बताउनुभयो । लगानीमैत्री वातावरण सिर्जना गरेर अघि बढ्न सके ऊर्जा क्षेत्रका समस्या समाधान हुने बस्नेतको भनाइ छ ।


प्रतिक्रिया