मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुसी सेनामा भर्ती भएका थप एक नेपाली युक्रेनमा बन्दी

रुसी सेनामा भर्ती भएका थप एक नेपाली युक्रेनमा बन्दी

न्यूजस्टोरी


काठमाण्डौ, रुसी सेनामा भर्ती भएका थप एक नेपाली युक्रेनमा बन्दी अवस्थामा रहेको खुलेको छ । रुसी सेनाको तर्फबाट युक्रेनविरुद्ध लड्न गएका काभ्रे मन्डनदेउपुरका २२ वर्षीय सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको भिडियो सार्वजनिक भएको हो ।

युक्रेनी सेनाले सार्वजनिक गरेको भिडियोअनुसार ढकालसहित ५ जना रुसी सेनालाई मङ्सिर १७ गते नियन्त्रणमा लिइएको हो । योसँगै युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपालीको सङ्ख्या २ पुगेको छ । यसअघि अर्का नेपाली विवेक खत्री युक्रेनमा बन्दी अवस्थामा रहेको र नेपाल फिर्ता गर्न कुटनीतिक पहल भैरहेको परराष्ट्र मन्त्रालयले जनाएको थियो ।

ढकालको विषयमा भने मन्त्रालयले केही भनेको छैन । रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको ज्यान गएको पुष्टि भैसकेको छ । नेपालले रूस–युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन र मृतकका परिवारलाई राहत दिन रूस सरकारसँग माग गरेको छ ।

यस्तै नेपालले रुसी सेनामा नेपाली नागरिकलाई भर्ना नलिन पनि रुसलाई आग्रह गरिसकेको छ । कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै, कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त देशहरुको सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति नरहेको उल्लेख गरेको छ ।

यसैबीच अवैधरूपमा नेपालीलाई रुस पठाउने प्रमुख एजेण्ट पूर्व सुरक्षाकर्मी भएको खुलेको छ । काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ परेका १२ जनालाई हिजो सार्वजनिक गर्दै प्रहरीले यस गिरोहमा पूर्व सुरक्षाकर्मीहरू समेत रहेको खुलाएको हो ।