मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानको ड्रुुक एअरले थाल्यो व्यावसायिक उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानको ड्रुुक एअरले थाल्यो व्यावसायिक उडान

न्यूजस्टोरी

कास्की । भुटानको ड्रुक एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान भरेको छ ।

भुटानको राजधानी थिम्पुमा रहेको पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ बजेर ४० मिनेटमा पोखरा ओर्लिएको बिमान यहाँबाट ८ बजेर १५ मिनेटमा ४२ यात्रु बोकेर थिम्पु नै फर्किएको हो ।

चार्टर्ड उडान भए पनि पोखरा विमानस्थललाई तिर्नुपर्ने रकम तिरेकाले पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको पोखरा विमानस्थल प्रमुख देवचन्द्रलाल कर्णले जानकारी दिनुभयो । उहाँले नेपाल नगारिक उड्डयन प्राधिकरणको नियम अनुसार अन्तर्राष्ट्रिय उडान गर्दा प्रतियात्रु ३ हजार रूपैयाँ र ग्राउन्ड ह्याण्डलिङको शुल्क ड्रुक एअरले तिरेको बताउनुभयो ।

भुटानको पारो विमानस्थलबाट शनिवार बिहान ५ बजेर ५५ मिनेटमा उडेको ड्रुक एअरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजेर ४० मिनेटमा अवतरण भएको थियो । १ सय ५० सिट क्षमता भएको जहाजमा जम्मा भुटानबाट ३ जना यात्रु आएका थिए भने फर्किँदा ४२ जना यात्रु फर्किएका थिए । भुटानबाट नेपाल आएका यात्रुहरुमा नेपाली, अमेरिकी र भियतनामी १—१ जना थिए ।

पोखराबाट भुटान जानेहरुमा अमेरिकी, क्यानेडियन र भारतीय पर्यटक रहेका उहाँले बताउनु भयो । ड्रुक एअरका पाइलट भुटानको वरिष्ठ पाइलट भएको र जहाज ल्याण्डिङ गर्दा उत्कृष्ट लागेको प्रतिक्रिया दिएको कर्णले बताउनुभयो ।

पोखराबाट भुटान जाने पर्यटक नेपालमा चार दिन पहिले आएका थिए । अमेरिकन पर्यटकहरु हेलिकप्टरमा घुम्ने, महँगा होटल, रिसोर्टमा बस्ने र साहसिक गतिविधिमा भाग लिने गरेका थिए । नेपालमा प्याकेज बनाएको ट्राभल एजेन्सीका अनुसार चार्टर्ड जहाजमा फर्किएका पर्यटकले दिनमै ७र८ सय डलरसम्म खर्च गरेका थिए । उनीहरुले चार दिनमा नेपालमा मात्रै करिब साढे २ करोड रुपैयाँ खर्च गरेका ट्राभल एजेन्सी प्रतिनिधि हेमन्तराज कोलाक्षपतिले जानकारी दिनुभयो ।

भुटानबाट पोखरा आएका पर्यटकलाई पोखरा पर्यटन परिषद्ले एअरपोर्टमा स्वागत गरेको थियो भने जानेलाई बिदाइ गरेको थियो । विमानस्थलमा आउने र जाने पर्यटकलाई गण्डकी प्रदेशका पर्यटनमन्त्री दिपेन्द्रबहादुर थापा, पोखराका मेयर धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठलगायत पर्यटन व्यवसायीहरुले स्वागत र बिदाइ गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यो दोस्रो चार्टर्ड उडान हो । गएको असार ६ गते बुधवार पहिलो पटक चीनको छेन्दुक सहरबाट सिचुवान एअरलाइन्सको एअरबस–३१९ विमानस्थलमा अवतरण गरेको थियो ।