जलेश्वर ९ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शिक्षा क्षेत्रको विकास मधेस प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकालाई साक्षर नगरपालिका घोषणा सार्वजनिकीकरण कार्यक्रममा उहाँले मधेस प्रदेश शिक्षामा निकै पछाडि रहेकाले मधेस प्रदेशको शिक्षाको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँले शिक्षा संसारकै सबैभन्दा ठूलो धन रहेको र शिक्षा भएपछि संसारको कुनै कुनामा कोही कहिले पनि भोको मर्दैनन् भन्दै मधेस प्रदेशका सबै अभिभावकलाई आ–आफ्ना बालबालिकालाई शिक्षा दिन आग्रह गर्नुभयो ।सोही क्रममा मुख्यमन्त्री यादवले सार्थक र उपयोगी शिक्षाका लागि विद्यार्थी, अभिभावक, शिक्षक, सरकारलगायत सरोकारवाला सबैलाई आ–आफ्नातर्फबाट इमान्दारीपूर्वक दायित्व बहन गर्न आग्रह गर्नुभयो ।उहाँले मधेस प्रदेश सरकार प्रदेशभित्र शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेर प्रदेशको चौतर्फी विकास गर्न उद्दत रहेको बताउनुहुँदै आवश्यक सहयोगका लागि सधैँ तयार र तत्पर रहने प्रतिबद्धतासमेत प्रकट गर्नुभयो ।
जिल्ला सदरमुकाम जलेश्वर मधेस प्रदेशमै तेस्रो र महोत्तरी जिल्लामा पहिलो साक्षर पालिका घोषणा भएको हो । जलेश्वर नगरपालिकामा आजको दिनसम्म ९१५ देखि ६० वर्षसम्मका० ९५ दशमलव ०५ प्रतिशत मानिस साक्षर रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो । नेपाल सरकारको प्रावधानअनुसार ९५ प्रतिशतभन्दा माथि साक्षरता सङ्ख्या पुगेको पालिकालाई साक्षर घोषणा गर्न सकिने छ । जलेश्वर नगरपालिकाको जनसङ्ख्या ६३ हजार आठ सय दुई रहेकोमा ३४ हजार चार सय ४८ जना साक्षर रहेका छन् ।
प्रतिक्रिया