नेपाल चेम्बर अफ कमर्सले १६औं योजनालाई परिणाममुखी बनाउन राष्ट्रिय योजना आयोगको ध्यानकर्षण गराएको छ। चेम्बरले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठलाई बोलाएर छलफल गरी मुलुकमा उपलब्ध प्राकृतिक स्रोत साधनको उच्चतम प्रयोग एवं निर्यात बढाउने खालका योजना तर्जुमा गर्न सुझाव दिएको छ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले १५औं योजनामा उल्लेखित धेरै लक्ष्य पूरा हुन नसकेको सन्दर्भमा १६औं योजनालाई परिणाममुखी बनाउनुपर्ने बताए। ‘आयोगको लक्ष्य र सरकारको बार्षिक बजेटबीच समन्वय भएको देखिएन,’ मल्लले भने, ‘१५औं योजनाको अन्त्य हुने यो आर्थिक वर्ष १०.३ प्रतिशत गर्ने आर्थिक वृद्धि गर्ने लक्ष्य राखिएको थियो। तर बजेटमा भने आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत राखिएको छ।’
१५औं योजनामा समावेश प्रमुख सहरमा मेट्रो रेल निर्माण, १८ स्थानमा औद्योगिक क्षेत्र निर्माण जस्ता कार्यक्रम कार्यन्वयन हुन नसकेको अध्यक्ष मल्लले बताए।
नेपाल सन् २०२६ मा अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने भएकाले त्यसपछिको अवस्थालाई लक्षित गरी रणनीति तय गर्नुपर्ने चेम्बरको सुझाव छ। उसले भारत र चीनका ठूला बजारलाई जोड्न भू जडित रणनीतिक सडक निर्माणलाई प्राथमिकतामा राख्न भनेको छ। जलविद्युत, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई पनि प्राथमिकतामा राख्नुपर्ने चेम्बरको सुझाव छ।
जवाफमा योजना आयोगका उपाध्यक्ष डा श्रेष्ठले १६औं योजना सामाजिक न्याय र सुशासनसहितको आर्थिक समृद्धिमा केन्द्रित हुने बताए।
प्रतिक्रिया