मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिखु–२ आयोजनाको सुरुङमा हालेको पानी चुहिँदा पेकरनासका ४२ घरपरिवार जोखिममा

लिखु–२ आयोजनाको सुरुङमा हालेको पानी चुहिँदा पेकरनासका ४२ घरपरिवार जोखिममा

न्यूजस्टोरी

रामेछाप । उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा निर्माणाधीन ५५ मेगावाट क्षमताको लिखु–२ जलविद्युत् आयोजनाले सुरुङमा हालेको पानी चुहिन थालेको छ । पानी चुहिएपछि उमाकुण्ड गाउँपालिका–१ गुम्देलको पेकरनास बस्तीका ४२ घरपरिवार जोखिममा परेका छन् ।

परीक्षणको लागि ९ महिनाअघि सुरुङमा हालिएको पानी चुहिएर तल्लो भागको बस्ती नै जोखिममा परेपछि सुरुङमा पानी पठाउन बन्द गरिएको थियो । तर, केही समय अघिदेखि आयोजनाले फेरि सुरुङमा हालेको पानी चुँहिदा बस्ती जलमग्न भएको स्थानीय राजेन्द्र घिमिरेले बताउनु भएको छ । पानी चुहिएर बस्ती नै जोखिममा परेपछि स्थानीयहरुले असुरक्षा भएको भन्दै सुरक्षित ठाउँमा स्थानान्तरणको माग गरेका छन् ।

यसअघि पनि सुरुङमा हालेको पानी चुँहिदा पेकरनास बस्तीका १६ घर परिवार जोखिममा परेका थिए । पहिरोको जोखिम भएपछि सुरक्षित ठाउँमा सारिएका १६ परिवारलाई आयोजनाले नै खाना र बस्ने व्यवस्था गर्दै आएको छ ।

पानी चुहिएपछि केही समयअघि पेकरनास पुगेको रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलासहितको टोलीले पहिरो जान सक्ने भन्दै सुरुङमा पानी बन्द गर्न निर्देशनका लागि गृह मन्त्रालयमा पत्र पठाएको थियो ।

गृहले विद्युत् विकास विभागलाई पत्राचार गरेपछि आयोजनाले सुरुङमा केही समयको लागि पानी हाल्न बन्द गरेको थियो । तर, आयोजनाले पुनः सुरुङमा पानी पठाएपछि बस्ती जलमग्न भएको हो । यो जलविद्युत् आयोजना दुगड समूहले निर्माण गरेको हो ।