मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘आलु, प्याजमा भ्याट लगाउनु अन्यायपूर्ण’

‘आलु, प्याजमा भ्याट लगाउनु अन्यायपूर्ण’

न्यूजस्टोरी

काठमाडौं । नेपाल कृषिउपज आलु प्याज आयत निर्यात तथा थोक बिक्रेता सङ्घले आर्थिक ऐन २०८० अन्तर्गत आलु तथा प्याजमा मूल्य अभिवृद्धि कर भ्याट लगाउनु अव्यावहारिक भएको बताएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सङ्घले भान्सामा दिनहुँ प्रयोग हुने अत्यावश्यक वस्तुहरू आलु तथा प्याजको कारोबारमा भ्याट लगाउनु उपयुक्त नभएको बताएको हो ।

पत्रकार सम्मेलनमा सङ्घका महासचिव प्रकाश गजुरेलले सरकारले जेठ १५ गते प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष २०८०–८१ बजेट वक्तव्यको एक बुँदा र सँगै प्रस्तुत भएको आर्थिक ऐन २०८० ले व्यवसाय तथा उपभोक्तालाई समेत प्रतिकूल असर पर्ने बताउनुभयो । उहाँले देशमा महँगी बढिरहेको बेला आलु, प्याजजस्ता अत्यावश्यक कृषिजन्य सामग्रीमा भ्याट लगाउनु भनेको सामान्य व्यक्तिलाई जीवन निर्वाह गर्न अझै कठिन बनाउनु भएको जिकिर गर्नुभयो ।

महासचिव गजुरेलले अहिले आलु, प्याजमा नौ प्रतिशत कृषि सेवा शुल्क र अग्रिम आयकर पाँच प्रतिशत गरी १४ प्रतिशत कर तिर्दै आएको पनि बताउनुभयो । उहाँले यस्तो अवस्थामा थप १३ प्रतिशत कर बुझाउनु भनेको प्रत्यक्ष वा अप्रत्यक्षरूपमा दैनिक भान्सामा लाग्ने खर्च बढाउनु रहेको जिकिर गर्नुभयो । यस्तो नीतिले व्यवसाय सङ्कुचित हुने र १३ प्रतिशत भ्याट लगाउँदा आलु, प्याज एक तिहाइले महँगिने उहाँको भनाइ छ ।

सङ्घले आलु तथा प्याजको कारोबारमा भ्याट आकर्षित गर्नु अनुचित, अव्यावहारिक, अनावश्यक, अन्यायपूर्ण र महँगीलाई मलजल गर्ने काम भएको भन्दै आर्थिक ऐन २०८० बमोजिम आलु तथा प्याजमा भ्याट आकर्षित गर्ने उपभोक्ता हित विरोधी काम नगर्न सरकारसँग आग्रह गरेको छ ।