मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकारको प्रधानमन्त्री प्रचण्डबाट उदघाटन

आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकारको प्रधानमन्त्री प्रचण्डबाट उदघाटन

न्यूजस्टोरी

काठमाडौं। प्रधानमन्त्री प्रचण्डले लुम्बिनी केबलकारको उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेसनमा रहेको ताम्रपत्र अनावरण गरि औपचारिक उद्घाटन गर्नुभएको हो । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकार व्यवसायिक रुपमा संचालनमा आउने गरी उद्घाटन गरिएको हो। बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो।

उद्घाटनपछि लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको बसन्तपुर अब कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगेधारा, पोखरी आदि संरचनाहरुले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकिय गन्तव्य बनेको आइएमई समूहले जनाएको छ।

यसअघि जेठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मुर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना सुरु गरिएको थियो। सप्ताहव्यापी पुजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरुले धार्मिक प्रवचन दिएका थिए। बसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको छ। कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास छ।

केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ। लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुईवटा पालिकाका लागि छुट्टाउने छ। आइएमई समूहले सञ्चालनमा ल्याएको यो तेस्रो केबलकार परियोजना हो। यसअघि आइएमई समूहले काठमाडौंको चन्द्रागिरी र हालै नवलपुरको गैडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताउनुभएको छ । लुम्बिनी केबलकार नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकारहरु सहित स्थानीयको सामूहिक प्रयासबाट प्राप्त माया, सद्भाव र सहयोगका कारण समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो । रुपन्देही र पाल्पा जिल्ला जोड्ने यस पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुर्‍याउने विश्वास रहेको पनि अध्यक्ष ढकालले बताउनुभयो । अध्यक्ष ढकालले रुपन्देहीलाई लुम्बिनी प्रदेशको आर्थिक राजधानी बनाउने यो प्रदेशका राजनीतिक नेतृत्व तथा आम जनताको चाहनालाई पुरा गर्न यो परियोजना कोशेढुंगा सावित हुने आशा लिएको उल्लेख गर्नुभयो । अध्यक्ष ढकालले केबलकार धार्मिक पर्यटन सर्किट निर्माणको नयाँ अभियानको पनि घोषणा गर्नुभएको छ ।
ढकालले यस सर्किट अन्तर्गत बुटवलको लुम्बिनी केबलकारबाट धार्मिक यात्रा सुरु गर्‍यौं भने यही बाटो हुँदै मौलाकाली, मुक्तिनाथ, मनकामना, चन्द्रागिरि, कालिञ्चोक हुँदै पाथिभरासम्म पुग्न सकिने अवस्था सृजना गर्न सकिने बताउनुभयो । भोलिका दिनमा यो सर्किटको विस्तार अन्य धार्मिक पर्यटकीय स्थलसम्म पुग्न सक्छ। नेपालमा पर्यटकको बसाई अवधि बढाउनुपर्ने आवश्यकता महसुस भइरहेका बेला यो सर्किटले विदेशी पर्यटकको बसाई लम्बाउन योगदान दिने आइएमई समूहको धारणा छ।

लुम्बिनी केबलकार रिसोर्टसहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ। पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ। टप स्टेसनमा पर्यटकका लागि भेज र ननभेज छुट्टाछुट्टै रेस्टुरेन्ट बनिसकेका छन्। होटल, बाल उद्यान, स्काईवाक, जीपलाइन निर्माणको क्रममा छन्।

मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ। बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टपस्टेसन ९ सय ४० मिटरको उचाईमा रहेको छ। बटन स्टेसनबाट १० मिनेटको यात्रा मै टप स्टेसनमा पुग्न सकिन्छ। गर्मी मौसममा बसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकारले सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताउनुभयो । केबलकार सञ्चालनमा आएसँगै टपस्टेसनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटल, लगायत संरचना निर्माण हुने छन्।