मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लू का कारण तराई मधेसको जनजीवन प्रभावित, तर राहतका छैन कुनै योजना

लू का कारण तराई मधेसको जनजीवन प्रभावित, तर राहतका छैन कुनै योजना

न्यूजस्टोरी

काठमाण्डौ । तातो हावा लू का कारण तराई मधेसको जनजीवन प्रभावित भएको छ । धेरैजसो विद्यालय बन्द भएका छन् भने अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । अत्यधिक गर्मी र तातो हावा लू का कारण टाउको दुख्ने, रिँगटा लाग्ने, वान्ता हुने, ज्वरो आउने, मांसपेशी दुख्ने जस्ता स्वास्थ्य समस्या देखिन थालेको छ ।

एक हप्ताभन्दा लामो समयदेखि चलेको लू अझै चार दिनसम्म चल्ने मौमसविद्ले अनुमान गरेका छन् । मौसमविद् गोविन्द झाका अनुसार तत्काल पानी पर्ने सम्भावना नरहेको र पश्चिमी वायु पनि कमजोर रहेकाले तराई मधेसमा अझै चाररपाँच दिन मौसम यस्तै रहन्छ ।

गर्मीले नागरिकलाई घर बाहिर निस्कन समेत मुस्किल पर्ने गरेको छ । डाक्टरहरुले घाम चर्किएका बेला सकेसम्म घर बाहिर नहिँड्न सुझाव दिँदै आएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि चर्को घाममा नहिँड्न तथा हिँड्नै परे छाता ओड्न, पातला कपडा लगाउन आग्रह गरेको छ । नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्दै आए पनि सरकारले प्रभावितको राहतका लागि भनेर कुनै योजना भने ल्याउन सकेको छैन ।

गर्मी र लू का विषयमा स्वास्थ्य मन्त्रालय र प्राधिकरणमा अनौपचारिक कुराकानी भइरहे पनि अब कसरी अगाडि बढ्ने भनेर औपचारिक छलफल भएको छैन । सरकारले मनसुनी समयमा हुने बाढी, पहिरो तथा डुबानलगायतका प्रकोपलाई विपद् अन्तर्गत राखे पनि लू तथा गर्मीलाई विपद् अन्तर्गत राखेको छैन । यसले गर्दा पनि यस्तो बेला कसरी नागरिकलाई राहत दिने भन्नेबारे योजना बनाउन कठिनाइ भएको प्राधिकरणका एक अधिकारीले बताए ।

एक हप्ता लामो समयदेखिको लू का कारण जनजीवन प्रभावित भएको तर राहतका कुनै योजना नआएको भन्दै आलोचना हुन थालेपछि सरकारले बल्ल चासो दिन थालेको छ । एकरदुई दिनमै यस विषयमा विज्ञसँग छलफल गरी निष्कर्षमा पुग्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्रभावित क्षेत्रका पालिका तथा प्रदेशसँग पनि सहकार्य र समन्वयका लागि छलफल गर्ने तयारी गरेको छ । स्थानीय सरकारले पनि अहिलेसम्म लू प्रभावित क्षेत्रमा राहतका कुनै कार्यक्रम ल्याएको छैन ।