काठमाण्डौ । नेपाल कृषि अनुसन्धान परिषद् नार्कले आज ३२औँ वार्षिकोत्सव मनाउँदैछ ।
किसानले भोग्दै आएको समस्या समाधान, नयाँ प्रविधिको विकासकासाथै रोगव्याधी लगायत विषयमा नार्कले अनुसन्धान गर्दै आएको छ । नार्कले खाद्यान्न, तरकारी, फलफूल, नगदे बालीहरू तथा पशुपक्षीको क्षेत्रमा अनुसन्धान गर्ने गर्छ ।
नार्कले अहिलेसम्म विभिन्न बालीनालीका ७ सयभन्दा धेरै जातहरु विकास गरेको छ । यस्तै, विभिन्न बालीवस्तुका उत्पादन तथा व्यवस्थापन प्रविधिहरु, भौगोलिक अवस्था सुहाउँदो साना कृषि औजारहरु, जलवायु परिवर्तनका नकारात्मक असरहरुलाई न्यूनीकरण गर्ने प्रविधिहरु, जैविक विविधता संरक्षण तथा पोषण सुरक्षामा टेवा दिने प्रविधिको पनि विकास भएको नार्कले जनाएको छ।
नार्कले बढ्दो खाद्यान्नको माग तथा आकासिँदो आयातलाई न्यूनीकरण एवं प्रतिस्थापन गर्न कृषि उत्पादन बढाउनुपर्ने र यसको लागि अनुसन्धानलाई सवल, आधुनिक र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया