मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोधारा चाँदनी सुक्खा बन्दरगाहका लागि भारतले खोल्यो नेपाली सीमासम्म ट्र्याक

दोधारा चाँदनी सुक्खा बन्दरगाहका लागि भारतले खोल्यो नेपाली सीमासम्म ट्र्याक

न्यूजस्टोरी

कञ्चनपुर । भारतीय पक्षले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ गडिगोठसम्म सुक्खा बन्दरगाहका लागि पहुँचमार्गको ट्र्याक खोलेको छ । दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि भारततर्फ रुख कटान गरेर नेपाली सीमासम्म पहुँचमार्ग ट्रयाक खोलिएको हो ।

भारतीय पक्षले सीमावर्ती बजार चक्करपुरमा पर्ने राष्ट्रिय राजमार्गदेखि नेपाल–भारत सीमासम्मै पहुँचमार्गको ट्रयाक खोलेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बूले जानकारी दिनुभयो । पारितर्फ नेपाली सीमासम्म जोड्ने सडकको ट्रयाक खोल्ने काम सकिएको उहाँको भनाई छ ।

उत्तराखण्डको चम्पावत जिल्लामा पर्ने चकरपुरदेखि नेपाली भूमि गडिगोठसम्म झण्डै चार किलोमिटर दुरीको चार लेनको पहुँचमार्गको ट्रयाक खोलिएको छ । पहुँचमार्ग निर्माणका लागि गएको कात्तिकमा दुई अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार डेढ वर्षभित्र पहुँचमार्ग निर्माणको काम गरिसक्नुपर्छ । पहुँचमार्ग क्षेत्रमा पर्ने भारतीय वनका झण्डै दुई हजारभन्दा धेरै रूख काटेर ट्रयाक खोलिएको हो । ट्रयाक खोलिएसँगै अब पहुँचमार्गमा कालोपत्रेको काम अगाडि बढ्ने छ ।

यो मार्गले नेपाल–भारतलाई व्यापारसँगै यातायात सेवालाई पनि जोड्ने छ । दोधारा चाँदनी नगरपालिका–१ मा सुक्खा बन्दरगाह निर्माण गर्ने तयारी छ । दुई दशकअघिदेखि चर्चामा रहेको सुक्खा बन्दरगाह निर्माणस्थलको गएको फागुन १ गते प्रधानमन्त्री प्रचण्डले निरीक्षण गर्नुभएको थियो । तीन वर्षमा सुक्खा बन्दरगाह निर्माण गर्नेगरी भारतसँग सम्झौता गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको थियो ।

सुक्खा बन्दरगाहदेखि एकीकृत जाँच चौकीसम्मका सबै संरचना निर्माण गर्नका लागि भारत सहमत भएको इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा सुक्खा बन्दरगाहको एओयु गर्ने गृहकार्य भइरहेको छ । आयोजना निर्माण गर्न मायापुरी र गौरीशङ्कर सामुदायिक वनको झण्डै दुई सय ८० बिघा जमिन प्रयोग हुनेछ ।

यसअघि दोधारा चाँदनी–७ कञ्चनभोजमा सुक्खा बन्दरगाहका लागि अध्ययन तथा सर्भे भएको थियो । तर स्थानीयको विरोध र भारतसँगको पहुँचमार्गमा समस्या हुने भएपछि सुक्खा बन्दरगाह निर्माणस्थल दोधारा चाँदनी–१ लाई प्रस्ताव गरिएको थियो । सुक्खा बन्दरगाहकै लागि महाकाली नदीमाथि चार लेनको पक्की पुल निर्माण भएको छ ।

पूर्वपश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि दोधारा चाँदनी–१ को मलेरिया नालासम्मको आठ किलोमिटर पहुँच मार्ग निर्माणको काम पनि लगभग अन्तिम चरणमा रहेको छ । दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भए सुदूरपश्चिम क्षेत्र व्यापारिकरूपमा भारतसँग जोडिनेछ । यसका साथै भारतको राजधानी नयाँदिल्ली र औद्योगिक नगरी रुद्रपुरसम्म पनि सहज पहुँच हुने र यस क्षेत्रको व्यापार व्यवसायमा वृद्धि हुनेमा स्थानीयको विश्वास छ ।