काठमाडौं, २५ साउन । आईएमई डिजिटल सोलुसन लिमिटेडको डिजिटल वालेट आईएमई पेले सिसा पीसीआई डीएसएस(SISA PCI DSS 4.0) प्रमाणीकरण प्राप्त गरेको छ । कम्पनीका अनुसार आईएमई पेले नेपालमै पहिलो पटक यस्तो प्रमाणपत्र प्राप्त गरेको हो ।
योसँगै नेपालमा आईएमई पे सबैभन्दा सुरक्षित र भरपर्दो विद्युतीय भुक्तानी माध्यम बनेको कम्पनीले दाबी गरेको छ । आफ्ना सेवाग्राहीहरूको व्यक्तिगत जानकारी र विवरणहरूको उच्च सुरक्षा प्रदान गर्दै सिसा इन्फरमेसन सेक्युरिटीको अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड पुरा गरेकाले यो प्रमाणीकरण प्राप्त भएको कम्पनीले जनाएको छ ।“आईएमई पेले आफ्नो स्थापनादेखि नै सेवाग्राहीहरुको व्यक्तिगत जानकारी सुरक्षा गर्दै आएको छ । सिसा इन्फरमेसन सेक्युरिटीमार्फत पीसीआई डीएसएसका मापदण्डहरू पूरा गरेर यो प्रमाणीकरण प्राप्त गरेको हो,” कम्पनीले विज्ञप्तिमा भनेको छ ।
सिसा इन्फर्मेसन सेक्युरिटीले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कम्पनीहरूको सूचना प्रणाली अडिट गर्छ । यसअन्तर्गत पीसीआई-डीएसएस प्रमाणपत्र दिनुका साथै फरेन्सिक अनुसन्धान, पेनिट्रेसन टेस्टिङ, कोड रिभ्यू लगायतका सेवा पर्छन् ।
प्रतिक्रिया