मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सम्भवको खुलासा : समाचार लुकाइदिन गृहमन्त्रीले धेरै अनुरोध गरे,नलुकाएपछि बुबालाई पक्राउ गरियो

सम्भवको खुलासा : समाचार लुकाइदिन गृहमन्त्रीले धेरै अनुरोध गरे,नलुकाएपछि बुबालाई पक्राउ गरियो

न्यूजस्टोरी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको समाचार लुकाइदिनका लागि गरेको अनुरोध नमान्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको दाबी गरेका छन्।

सहकारीको बचत अपचलनबारे लगातार लेख्दै आएको कान्तिपुर मिडिया ग्रुपलाई समाचार लुकाइदिन लामिछानेले गरेको आग्रह नमानेपछि अध्यक्ष सिरोहिया पक्राउ परेको उनका छोरासमेत रहेका प्रबन्ध निर्देशक सम्भवले दाबी गरेका हुन्।

शुक्रबार सामाजिक सञ्जालमामार्फत एक भिडियो जारी गर्दै उनले भनेका छन्, ‘रवि लामिछानेको सहकारीको ठगी जनताको माझमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो, यो समाचार लुकाइदिनको लागि, मिलाइदिनका लागि। उहाँले पहिला आफूले गरेको पत्रकारिताजस्तो सोच्नुभयो, सेटिङ गरेर समाचार बन्छ वा लुक्छ जस्तो सोच्नुभयो। उहाँलाई कति अनुरोध गरियो। व्यवस्थापनले समाचार लेख्दैन, सम्पादकीय स्वतन्त्रता छ। उहाँले त्यो बुझ्नु भएन। गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लो स्तरमा ओर्लनुभयो। उहाँले आफ्नो शक्ति दुरूपयोग गर्दै झूटो केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुवा कैलाश शिरोहियालाई पक्राउ गर्नुभयो।’


बुवा कैलाश नौ सन्तानमध्ये कान्छो भएको र उनको जन्म हुँदा हजुरबुवा घासिरामले नेपालको नागरिकता प्राप्त गरिसकेकाले बुवाले वंशजको नागरिकता पाएको सम्भवको जिकिर छ।

‘कैलाश सिरोहिया, हामीजस्तै नेपालमा जन्मिएको, हुर्किएको नेपाली नागरिक हो। दाइहरू जन्मँदा हजुरबुवाले नागरिकता प्राप्त गर्नुभएको थिएन। नौ जना मध्येका कान्छा छोरा कैलाश जन्मँदा हजुरबुवाले नेपाली नागरिता प्राप्त गरिसक्नुभएको थियो। यति सामान्य कुरालाई के(के न जस्तो हल्ला गरियो’, उनले भनेका छन्।

नागरिकता ऐन २०२० ले यो ऐन जारी भएपछि नेपालमा जन्मिएका र जन्मको बेलाामा उनको बुबा नेपाली नागरिक भएको अवस्थामा बंशज नागरिकता पाउने प्रावधान छ। तर सिरोहियाको जन्म मिती २०१९ रहेकाले नागरिकताको प्रकारमा कैफियत देखिन्छ।

नागरिकता प्रकरणमा अध्यक्ष सिरोहिया गत जेठ ८ गते पक्राउ परेका थिए। उनलाई जिल्ला सरकारी वकिलको कार्यालयबाट अनुमति लिएर धनुषा प्रहरीले जेठ १६ गते हाजिर जमानीमा छाडेको थियो।