काठमाण्डौ । विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् ।
आर्थिक वर्ष २०७२—०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ भाले, आठ पोथी छन् । आठ वटाको पहिचान नखुलेको उहाँको भनाइ छ । उहाँका अनुसार मृत भेटिएका बाघमा बुढो भएर आठ, आपसमा जुधेर आठ, उपचारका क्रममा पाँच, बिरामी भएर एक, विष सेवनबाट तीन र पाँच वटा कारण नखुलेको पाइएको छ ।
यस्तै आर्थिक वर्ष २०७२—०७३ मा एक, २०७३—०७४ मा चार, २०७४—०७५ मा छ, २०७५—०७६ मा आठ बाघ मृत भेटिएको थियो । आव २०७६—०७७ मा तीन, २०७७—०७८ मा दुई र २०७८—०७९ मा छ वटा बाघ मृत भेटिएका थिए ।
चालु आवमा भने बाघ मृत नभेटिएको जनाइएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको सङ्ख्या बढेको छ । सङ्ख्या वृद्धि भएसँगै आहाराको खोजीमा बाघ एकापसमा जुध्ने गर्नाले मृत भेटिने सङ्ख्या बढेको तिवारीले बताउनुभयो । निकुञ्जको तथ्याङ्कअनुसार चालु आवको चैत मसान्तसम्ममा ९६ वटा वन्यजन्तु मृतावस्थामा भेटिएका छन् । यस्तै ९६ वटा वन्यजन्तुको उद्धार गरिएको छ ।


प्रतिक्रिया