काठमाडौं, २ चैत्र । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सुन तस्करीमा संलग्न आरोपमा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको खुलासा भएको छ । आयोगले पूर्व सभामुख महराविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो ।
आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण गरेको र आज गृहमन्त्री लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस भएको उच्च स्रोतको दाबी छ । इलेक्ट्रिक चुरोट ‘भेप’मा भेपमार्फत गरिएको सुन तस्करीमा महराको संलग्नता देखिएको जाँचबुझ आयोगको ठहर छ । सोही मुद्दामा महरा पुत्र राहुल महरा भने पुर्पक्षका लागि जेलमा छन् ।पूर्व सभामुख महरालाई फेरि अनुसन्धान गरेर मुद्दा चलाउन आयोगले सिफारिस गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट काठमाडौँमा सुन तस्करी भएको थियो । असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठन भएको समितिमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज सदस्य थिए । करिब साढे ५ महिनापछि बुझाएको प्रतिवेदनमा महरालाई दोषी किटान गरिएको छ ।


प्रतिक्रिया