मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गौरमा साम्प्रदायिक तनाव भड्काएको आरोपमा २३ जना पक्राउ

गौरमा साम्प्रदायिक तनाव भड्काएको आरोपमा २३ जना पक्राउ

न्यूजस्टोरी

रौतहट, ९ फागुन । रौतहटको गौर नगरपालिका–६ सबगढामा दुई समुदायबीच उत्पन्न साम्प्रदायिक तनावलाई पुनः भड्काएर शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा २३ जनालाई जिल्ला प्रशासनले नियन्त्रणमा लिएको छ ।
निर्वाचनको समयमा समाज अशान्त बनाउने, धार्मिक सद्भावमा खलल पुर्याउने तथा सिंगो जिल्लालाई नै अस्थिर बनाउने गतिविधिमा संलग्न रहेको आरोपमा उहाँहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार शनिबार गौरका चार स्थानका मस्जिदमा सामान्य तोडफोड भएको छ । आज भएको झडपमा सात जना व्यक्ति घाइते भएका छन् । घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
झडपका क्रममा एउटा स्कर्पियो गाडी र चारदेखि पाँच वटा मोटरसाइकलमा क्षति पुगेको छ । धार्मिक स्थललाई लक्षित गरी आक्रमण भएपछि स्थानीय तहमा त्रासको अवस्था सिर्जना भएको छ ।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिनुका साथै संवेदनशील क्षेत्रमा निगरानी बढाइएको प्रहरीले जनाएको छ । प्रशासनले सर्वसाधारणलाई संयमता अपनाउन तथा अफवाहमा नलाग्न आग्रह गर्नुभएको छ ।