काठमाडौँ । खेलकुदमा राजनीति मिसाउन खोजेको भन्दै चिनियाँ समर्थकले आफूमाथि लगाएको आरोपका विषयमा अर्जेन्टिनी स्टार लियोनल मेस्सीले आफ्नो बचाऊ गरेका छन् । उनले स्वास्थ्य समस्याका कारण आफूले हङ्कङमा मैत्रीपूर्ण फुटबल खेल्न नसकेको बताएका छन् ।केही समयअघि अमेरिकी फुटबल क्लब इन्टर मियामी एसिया भ्रमणमा आएको थियो । मेस्सी पनि इन्टर मियामीबाटै ब्यवसायीक फुटबल खेल्छन् ।
एसिया भ्रमणका क्रममा इन्टर मियामीले हङ्कङमा प्रदर्शनी खेल खेलेको थियो ।तर, त्यो खेलमा मेस्सी मैदानमा ओर्लिएका थिएनन् । स्वास्थ्य समस्याका कारण मेस्सीले उक्त खेल नखेलेको बताइएको थियो ।
त्यसअघि साउदी अरेबियामा खेलिएको मैत्रीपूर्ण खेलमा भने मेस्सी मैदानमा ओर्लिएका थिए । हङ्कङ भ्रमणपछि जापान पुगेको इन्टर मियामीले त्यहाँ पनि प्रदर्शनी खेल खेलेको थियो । जापानमा खेलिएको खेलमा पनि मेस्सी मैदानमा ओर्लिएका थिए ।हङ्कङमा मेस्सीको खेल हेर्न हजारौँ समर्थकले महंगो मूल्यमा टिकट खरिद गरेका थिए । मेस्सीले नखेलेपछि समर्थकहरू आक्रोशित बनेका थिए ।
आयोजकले आफूहरूसँग धोखा गरेको आरोप पनि समर्थकले लगाएका थिए ।समर्थकहरूले इन्टर मियामी र मेस्सीले फुटबलमा राजनीति मिसाउन खोजेको आरोप पनि लगाएका थिए ।
चिनिया सरकारका स्थानीय अधिकारीहरु पनि इन्टर मियामी र मेस्सीको उक्त निर्णयबाट रुष्ट बनेका थिए ।आफूमाथि आरोप लाग्नेक्रम बढ्दै गएपछि मेस्सीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
उनले स्वास्थ्य समस्याकै कारण आफूले हङ्कङमा मैत्रीपूर्ण खेल नखेलेको बताएका छन् । उनले एक भिडियो सार्वजनिक गर्दै आफूले हङ्कङमा नखेल्नुको पछाडि कुनै राजनीतिक कारण नरहेको दाबी पनि गरेका छन् ।
‘हङ्कङमा मेरो अनुपस्थितिको विषयलाई लिएर विभिन्न आरोप लगाइएको छ । यस्ता आरोपमा कुनै सत्यता छैन । मैले फुटबलमा राजनीति मिसाउने कुनै कार्य गरेको छैन,’ चिनियाँ समर्थकलाई सम्बोधन गर्दै मेस्सीले जारी गरेको भिडियो सन्देशमा भनिएको छ ।


प्रतिक्रिया