काठमाडौं, १६ असोज । बडादशैँ अन्तर्गत दुर्गापक्षको मुख्य दिन विजयादशमी आज देशभर मान्यजनको हातबाट शुभसाइत र समृद्धिको प्रतीक रातो टीका र जमरा लगाएर मनाइँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका-प्रसाद ग्रहण गर्ने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ भने देवी विसर्जनको समय बिहान ९ बजेर २३ मिनेटमा तय गरिएको छ । समितिले विजया दशमी आफैंमा शुभ दिन भएकाले सबैले साइत कुर्नैपर्ने आवश्यकता नरहेको स्पष्ट पारेको छ ।
आज टीका ग्रहण गर्दा व्यक्तिले पूर्वमुखी हुन शुभ मानिन्छ । घटस्थापनाका दिन राखिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी मान्यजनबाट टीका र जमरा लगाउने चलन रहिआएको छ ।
आजको दिन टीका नलगाउन सक्नेहरूले कोजाग्रत पूर्णिमासम्म दुर्गाको प्रसादका रूपमा मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने परम्परा छ ।
विजयादशमीलाई असत्यमाथि सत्य र आसुरीशक्तिमाथि देवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने गरिएको हो ।


प्रतिक्रिया